काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले काठमाडौंमा आफ्नै कार्यालय स्थापना गरेको छ। पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले साँचो खोलेर कार्यालयको उद्घाटन गरेका हुन्।


उद्घाटन कार्यक्रममा शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलालगायत नेताहरू सहभागी थिए। त्यसअघि बसेको छलफलमा खड्काले पार्टीभित्रको पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेका थिए।


खड्काका अनुसार इतर समूहमा हाल शेखर कोइरालासहित १११ जना रहेको र उनीहरूलाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने प्रस्ताव पार्टी नेतृत्वसमक्ष राखिएको छ। उनले उपसभापति विश्वप्रकाश शर्मामार्फत सातबुँदे प्रस्तावको लिखित जवाफ आदानप्रदान भएको दाबी पनि गरे।


ब्रिफिङका क्रममा खड्काले विश्वप्रकाश शर्माले आफू र शेखर कोइरालालाई वरिष्ठ नेता बनाउने सहमति भएको जानकारी दिएको भए पनि आफूले त्यसलाई अस्वीकार गरेको बताए। साथै, त्यसपछि कुनै औपचारिक जानकारी नआएको र सदस्यता नवीकरणसम्बन्धी समाचार आएपछि आफूले सामाजिक सञ्जालमार्फत त्यसको खण्डन गरेको पनि उनले बताए।


उनले इतर समूहले आगामी २–३ दिन नियमित छलफल गर्ने र साउन ६ गते बीपी कोइरालाको जयन्ती विशेष रूपमा मनाउने जानकारी दिए।