
काठमाडौं। भारतीय उद्योगपति गौतम अदानीविरुद्ध अमेरिकामा चलिरहेको घुसखोरी र ठगीसम्बन्धी आपराधिक मुद्दा खारेज भएको छ।
रोयटर्सका अनुसार ब्रुकलिनस्थित जिल्ला न्यायाधीश निकोलश गराउफिसले सोमबार अभियोजन पक्षको अनुरोध स्वीकार गर्दै अदानीविरुद्धको मुद्दा खारेज गरेका हुन्। यद्यपि, मुद्दा फिर्ता लिने निर्णयको प्रक्रियामाथि न्यायाधीशले गम्भीर प्रश्न उठाएका छन्।
न्यायाधीश गराउफिसले प्रमुख सहन्यायाधिवक्ता ट्रेन्ट म्याकोटरले अनुसन्धानमा संलग्न सरकारी वकिल तथा एजेन्टसँग पर्याप्त परामर्श नगरी अदानीका प्रतिरक्षा वकिलहरूसँगको छलफलका आधारमा मुद्दा फिर्ता लिने निर्णय गरेको भन्दै आलोचना गरेका छन्।
‘अभियोग खारेज गर्ने निर्णयमा देखिएका अनियमितता चिन्ताजनक छन्,’ आदेशमा न्यायाधीशले उल्लेख गरेका छन्। उनले विभिन्न संघीय निकायका अधिकारीहरूको रायलाई बेवास्ता गर्दै म्याकोटरले एकल रूपमा निर्णय गरेको देखिएको बताएका छन्।
मुद्दा खारेज गर्ने निर्णय अदानीले अमेरिकामा ठूलो लगानी गर्ने प्रतिबद्धतासँग सम्बन्धित थियो कि थिएन भन्ने विषयमा समेत न्यायाधीशले प्रश्न गरेका थिए। तर म्याकोटरले अदानीको लगानीसम्बन्धी प्रतिबद्धताका कारण मुद्दा फिर्ता लिइएको भन्ने समाचारहरू गलत भएको बताएका छन्।
अदानीले अदालतको निर्णयपछि सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै अमेरिकी अदालतको निर्णयलाई आफूले ‘नम्रता र न्यायिक प्रक्रियाप्रतिको गहिरो सम्मान’का साथ स्वागत गरेको बताएका छन्।
अमेरिकी अभियोजन पक्षले अदानी समूहले भारतमा सौर्य ऊर्जा ठेक्का हात पार्न सरकारी अधिकारीहरूलाई घुस दिने योजना बनाएको र त्यसका लागि अमेरिकी लगानीकर्ताबाट रकम जुटाउने प्रयास गरेको आरोप लगाउँदै सन् २०२४ मा अभियोग दायर गरेको थियो। अभियोगमा सन् २०२० देखि २०२४ सम्मको घटनाक्रम समेटिएको थियो।
अदानीसँगै उनका भतिजा सागर अदानी, अदानी पावरका प्रमुख कार्यकारी अधिकृत विनीत जैन तथा अज्युर पावर ग्लोबलका अधिकारीसहित अन्य व्यक्तिविरुद्ध पनि अभियोग लगाइएको थियो।
अदानीले मुद्दा दर्तापछि अमेरिकी कानुनी फर्म सलीभान एन्ड क्रमवेलका वकिललाई आफ्नो प्रतिरक्षाका लागि नियुक्त गरेका थिए। यही फर्मले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित विभिन्न कानुनी मामिलामा पनि काम गरेको बताइएको छ।
अदानी समूह यसअघि सन् २०२३ मा अमेरिकी सर्ट–सेलिङ फर्म हिन्डेनबर्ग रिसर्चको अनुसन्धानका कारण पनि विवादमा आएको थियो। हिन्डेनबर्गले अदानी समूहले शेयर मूल्यमा हेरफेर तथा लेखासम्बन्धी अनियमितता गरेको आरोप लगाएपछि समूहका कम्पनीहरूको बजार मूल्यमा ठूलो गिरावट आएको थियो। अदानी समूहले भने ती आरोपहरू अस्वीकार गर्दै आएको थियो।
अमेरिकी अदालतबाट आपराधिक मुद्दा खारेज भए पनि न्यायाधीशले मुद्दा फिर्ता लिने प्रक्रियामाथि उठाएका प्रश्नले भने अमेरिकी न्याय मन्त्रालयको निर्णय प्रक्रियालाई लिएर नयाँ बहस सिर्जना गरेको छ।














Comments