काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टी अध्यक्षबाट हटाएर देखाउन चुनौती दिएका छन् ।

इलाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्र केही व्यक्तिले चिया पिएर गफ गर्दै अध्यक्ष हटाउने कुरा गरेको भन्दै असन्तुष्टि जनाए । उनले भने, ‘अध्यक्ष हटाउने ! कहिले हो हटाउने ! हटाइदेऊ न । ढिलो भयो भने त छिटो हटाऊ त ।’

ओलीले पार्टीभित्र अनुशासनहीनता र अराजकता बढेको भन्दै अध्यक्ष हटाउने विषयलाई मजाकका रूपमा नलिन चेतावनी दिए । आफूलाई हटाउने अभियान चलाउनेहरू पार्टी सदस्यसमेत छन् कि छैनन् भन्ने प्रश्नसमेत उनले उठाए ।

एमाले अध्यक्षबाट आफूलाई हटाउने भन्दै केही व्यक्तिले हस्ताक्षर अभियान चलाएकोप्रति पनि ओलीले आपत्ति जनाए । पार्टीको विधान र प्रक्रियाविपरीत हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउन नसकिने उनको भनाइ छ ।

‘न पार्टीको तरिका न विधान । अस्ति महाधिवेशन भएको थियो । आफैं पनि सहभागी भयो होला,’ ओलीले भने ।

उनले अहिले पार्टीभित्र नेतृत्व परिवर्तनको बहस गर्ने समय नभएको पनि बताए । बाह्य शक्तिबाट पार्टीमाथि तीव्र प्रहार भइरहेको भन्दै ओलीले यस्तो अवस्थामा एमाले एकताबद्ध भएर सामना गर्नुपर्नेमा आन्तरिक विवादमा अल्झिनु उचित नभएको बताए ।

‘जति बेला विरोधी शक्तिले तीव्र प्रहार गरेको छ, हामीलाई झेल्न मुस्किल भइरहेको छ, त्यतिबेला सिंगै पार्टी एकजुट भएर सामना गर्नुपर्ने हो,’ ओलीले भने, ‘अहिले अध्यक्ष हटाउँछु भन्या छ, के भन्या छ—यी सबै कुरा बेकार छन्।’