
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग अमेरिकाले गर्दै आएको संयुक्त सैन्य अभ्यास उल्लेख्य रूपमा घटाउन रक्षा मन्त्रालय (पेन्टागन) लाई निर्देशन दिएका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत यस्तो जानकारी दिँदै निर्णयका पछाडि तीन प्रमुख कारण रहेको बताएका छन्। उनका अनुसार दक्षिण कोरियाले इरानविरुद्धको अमेरिकी अभियानमा सहयोग गर्न अस्वीकार गर्नु, उत्तर कोरियासँग आफ्नो सम्बन्ध सुधार गर्ने प्रयास र संयुक्त सैन्य अभ्यासमा हुने ठूलो खर्च निर्णयका मुख्य आधार हुन्।
ट्रम्पका अनुसार इरानसँगको युद्धका क्रममा उनले हर्मुज जलमार्ग खुलाउन तथा इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्न सहयोगका लागि दक्षिण कोरियासहित अमेरिकी साझेदार राष्ट्रहरूसँग आग्रह गरेका थिए। तर दक्षिण कोरियाले हर्मुजसम्बन्धी अभियानमा सहभागी हुन अस्वीकार गरेपछि आफू असन्तुष्ट बनेको उनले बताएका छन्।
उनले दक्षिण कोरियाका राष्ट्रपतिसँग इरानको आणविक निःशस्त्रीकरण अभियानमा सहभागी हुने विषयमा सोध्दा अस्वीकारात्मक जवाफ आएको दाबी गरेका छन्।
त्यसैगरी ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै दक्षिण कोरियासँगको ठूलो सैन्य अभ्यासले प्योङयाङलाई अनावश्यक रूपमा शत्रुतापूर्ण सन्देश जाने बताएका छन्। आफूले यस्ता अभ्यास पहिलेदेखि नै मन नपराएको पनि उनले उल्लेख गरेका छन्।

तेस्रो कारणका रूपमा ट्रम्पले आर्थिक भारलाई अघि सारेका छन्। उनका अनुसार संयुक्त सैन्य अभ्यासमा ठूलो रकम खर्च हुने र त्यसको ठूलो हिस्सा अमेरिकाले नै बेहोर्नुपर्ने भएकाले पनि अभ्यासको आकार घटाउनु आवश्यक भएको हो।
ट्रम्पको यो निर्णय अमेरिका र दक्षिण कोरियाबीचको सुरक्षा सहकार्यमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ। यसअघि अमेरिकी रक्षा सचिव पिट हेगसेथले दक्षिण कोरियाले रक्षा खर्च बढाउने प्रतिबद्धता जनाएको र कोरियाली प्रायद्वीपको सुरक्षामा थप जिम्मेवारी लिन थालेको भन्दै दक्षिण कोरियाको प्रशंसा गरेका थिए।
अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि ‘उल्ची फ्रिडम शिल्ड’ नामक वार्षिक संयुक्त सैन्य अभ्यास सुरु गर्ने तयारी गरेका थिए। अभ्यासमा करिब १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी हुने योजना थियो। उत्तर कोरियाबाट हुनसक्ने सैन्य खतराविरुद्ध संयुक्त तयारी र सैन्य परिचालन क्षमता परीक्षण गर्नु यसको मुख्य उद्देश्य हो।
अभ्यासमा प्रत्यक्ष गोली प्रहार, संयुक्त लक्ष्य निर्धारण, पानीका अवरोध पार गर्ने तथा भण्डारण गरिएका सैन्य सामग्री परिचालनलगायतका गतिविधि समावेश थिए। दक्षिण कोरियाको रक्षा मन्त्रालयले अभ्यास निर्धारित योजनाअनुसार सुरु भएको जनाएको छ।
यसबीच उत्तर कोरियाले पनि अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासको निरन्तर विरोध गर्दै आएको छ। प्योङयाङले यस्ता अभ्यासलाई आक्रमणको पूर्वाभ्यास भन्दै क्षेत्रीय तनाव बढाउने गतिविधिका रूपमा व्याख्या गरेको छ। संयुक्त अभ्यास सुरु हुनुअघि नै उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गतिविधि पुनः सुरु गरेको थियो।
ट्रम्पको निर्णयको अमेरिकी डेमोक्रेटिक सिनेटर मार्क केलीले आलोचना गरेका छन्। पूर्व नौसेना पाइलटसमेत रहेका केलीले संयुक्त सैन्य अभ्यास कमजोर पार्नु अदूरदर्शी निर्णय भएको टिप्पणी गरेका छन्।
ट्रम्प र किमबीचको सम्बन्धलाई भने पछिल्लो निर्णयले पुनः चर्चामा ल्याएको छ। ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमसँग तीनपटक उच्चस्तरीय वार्ता गरेका थिए। सन् २०१९ मा भएको पछिल्लो शिखर वार्तापछि दुई देशबीचको आणविक वार्ता अघि बढ्न सकेको छैन।
दोस्रो कार्यकालमा पनि ट्रम्पले किमसँग संवाद पुनः सुरु गर्न इच्छुक रहेको संकेत दिँदै आएका छन्। सैन्य अभ्यास घटाउने घोषणा गर्नुभन्दा एक दिनअघि उनले किमसँगको पुरानो तस्बिर सार्वजनिक गर्दै दुई नेताबीच उत्कृष्ट सम्बन्ध रहेको दाबी गरेका थिए।
ट्रम्पले यसअघि पनि अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास रोक्ने प्रयास गरेका थिए। सन् २०१८ मा सिंगापुरमा किमसँग पहिलो शिखर वार्ता गरेपछि उनले यस्ता अभ्यासलाई उत्तेजक भन्दै रोक्ने घोषणा गरेका थिए। अहिलेको निर्णयले भने अमेरिका–दक्षिण कोरिया सुरक्षा गठबन्धन र उत्तर कोरियासँग ट्रम्प प्रशासनले अघि बढाउन खोजेको कूटनीतिक रणनीतिबारे नयाँ बहस सिर्जना गरेको छ।











Comments