
सिन्धुली,— ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यले भरिपूर्ण सिन्धुलीगढी मा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पुनर्निर्माण तथा युद्ध सङ्ग्रहालय निर्माण सम्पन्न भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको हो।
सदरमुकाम सिन्धुलीमाढी तथा खुर्कोट बजारबाट करिब २० किलोमिटर दूरीमा अवस्थित सिन्धुलीगढीमा हाल दैनिक २०० भन्दा बढी पर्यटक पुग्ने गरेका छन्। नागबेली सडक यात्रा पार गरी पुगिने सिन्धुलीगढी कुहिरो, शीतल हावा र मनोरम दृश्य का कारण वर्षभरि आकर्षक गन्तव्य बनेको छ। तराई क्षेत्रका जिल्लाबाट आउने पर्यटकहरू गर्मी र जाडो दुवै मौसममा यहाँ आउने गरेका छन्।हाल जुनार र सुन्तलाको मौसम रहेकाले आन्तरिक तथा भारतीय पर्यटकहरूले स्थानीय उत्पादन उपहारका रूपमा लैजाने गरेका छन्।
नेपाल–अङ्ग्रेज युद्धको जीवित दस्तावेज मानिने सिन्धुलीगढीमा संघीय संरचनापछि उल्लेखनीय पूर्वाधार विकास गरिएको छ। नेपाली सेनाको करिब रु आठ करोड सहयोगमा युद्ध सङ्ग्रहालय निर्माण भएपछि पर्यटकको चाप बढेको हो।
विशेषगरी नेपाली तथा अङ्ग्रेजी नयाँ वर्ष, शनिबार र सार्वजनिक बिदा का दिनमा यहाँ एक हजारभन्दा बढी पर्यटक पुग्ने गरेका छन्। पछिल्लो एक वर्षमा अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, श्रीलङ्का, पाकिस्तान र भारतका पर्यटकसमेत यहाँ आइपुगेका छन्।