काठमाडौँ, १५ पुस — आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्द सूची निर्वाचन आयोगमा बुझाएका छन्।

बहादुरभवनस्थित निर्वाचन आयोगमा स्थापना गरिएको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा पुस १३ र १४ गते बन्द सूची बुझाउने कार्यतालिका तय गरिएको थियो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सोमबार राति अबेर र मंगलबार बिहानसम्म गरेर कुल ६४ दलले बन्द सूची दर्ता गराएका छन्।

समानुपातिक प्रणालीतर्फ रहेको ११० सिटका लागि ६४ दलका ३ हजार ४२४ उम्मेदवारको नाम बन्द सूचीमा समावेश गरिएको आयोगले जनाएको छ। बन्द सूची बुझाउने दलमध्ये ५४ दलले आफ्नै निर्वाचन चिह्नबाट१० दलले साझा निर्वाचन चिह्नबाट उम्मेदवारी दर्ता गराएका छन्।

यसबीच, केही राजनीतिक दलबीच एकता तथा सहकार्यसम्बन्धी सहमति भएकाले राति अबेरसम्म बन्द सूची बुझाउने क्रम जारी रहेको आयोगले जनाएको छ। यस प्रणालीमा उम्मेदवारी दिन कुल ९३ राजनीतिक दलले आवेदन दिएका थिए।

निर्वाचन आयोगका अनुसार, प्राप्त बन्द सूचीको पुस १५ देखि २० गतेसम्म छानबिन गरिनेछ। छानबिनपछि सच्याउनुपर्ने विवरण वा अपुग कागजात भएमा पुस २१ देखि २७ गतेसम्म दललाई समय दिइनेछ। त्यसपछि पुस २८ देखि माघ ३ गतेसम्म संशोधित सूची पुनः जाँच गरिनेछ।

आयोगले माघ २० गते अन्तिम समानुपातिक उम्मेदवार सूची प्रकाशन गर्ने जनाएको छ।