
काठमाडौँ, १५ पुस — प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन ६५ दिन बाँकी रहँदा निर्वाचन आयोगले उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सीमा निर्धारण गरेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले सुगम र दुर्गम जिल्लाअनुसार फरक–फरक खर्च सीमा तोकेको हो।
निर्वाचन आयोगका अनुसार, काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २५ लाख सम्म खर्च गर्न पाउनेछन्। ती क्षेत्रहरूमा काठमाडौँ क्षेत्र नम्बर १, ३, ६, ७ र ८ रहेका छन्।
यसैगरी,
- १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २७ लाख,
- ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २९ लाख,
- ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु ३१ लाख, र
- २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु ३३ लाख
सम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।
आयोगका अनुसार, उम्मेदवारले निर्वाचन खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्नुपर्नेछ र सबै खर्च त्यही खातामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, उम्मेदवारको तर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोकी निजको नाम र विवरण निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ।
उम्मेदवारले तोकिएको खर्च सीमाभित्र रहेर निर्वाचन खर्च गर्नुपर्नेछ। प्रतिनिधिसभा सदस्य ऐनअनुसार, निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने आयोगले जनाएको छ।
You must be logged in to post a comment.