राममणि घिमिरे

काठमाडौं। सीमित स्रोतसाधन, अनेकौँ चुनौती र ठूलो संकल्पका साथ दुई दशकअघि सुरु भएको जनसवाल राष्ट्रिय दैनिक २० वर्षको प्रकाशन यात्रा पूरा गर्दै २१औँ वर्षमा प्रवेश गरेको छ। यस अवसरमा शनिबार राजधानीमा विविध कार्यक्रमसहित २०औँ वार्षिकोत्सव समारोह आयोजना गरिएको छ।

छापा पत्रकारितामाथि बढ्दो आर्थिक दबाब, सञ्चार प्रविधिमा आएको तीव्र परिवर्तन, डिजिटल माध्यमको विस्तार र सामाजिक सञ्जालको प्रभावबीच दुई दशकसम्म नियमित प्रकाशनलाई निरन्तरता दिनु जनसवालका लागि महत्वपूर्ण उपलब्धि बनेको छ। वार्षिकोत्सव समारोहमा सहभागी वक्ताहरूले जनसवालले व्यावसायिक क्षेत्र, श्रम बजार, वैदेशिक रोजगार, प्रवासी नेपाली तथा जनसरोकारका विषयलाई निरन्तर प्राथमिकतामा राख्दै आएको भन्दै प्रशंसा गरे।

समारोहमा मिडिया एलायन्स नेपालका अध्यक्ष तथा एभिन्युज टेलिभिजनका अध्यक्ष भास्करराज कर्णिकार, गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका उपाध्यक्ष प्रवीण गुरुङ, नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारी, कोषाध्यक्ष रामकृष्ण अधिकारीलगायत पत्रकार, सञ्चारकर्मी, व्यवसायी, उद्योगी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।

दुई दशकको निरन्तरता आफैंमा उपलब्धि

मिडिया एलायन्स नेपालका अध्यक्ष भास्करराज कर्णिकारले प्रिन्ट मिडिया आर्थिक, प्रविधिगत र व्यावसायिक चुनौतीको चापमा रहेका बेला जनसवालले २० वर्षसम्म प्रकाशनलाई निरन्तरता दिनु ठूलो उपलब्धि भएको बताए।

उनले डिजिटल माध्यम र सामाजिक सञ्जालको प्रभाव बढिरहेको अवस्थामा पनि जनसवालले व्यावसायिक क्षेत्र, श्रम बजार र जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए। अध्यक्ष तथा प्रधान सम्पादक रामजी बगालेसहित सम्पूर्ण जनसवाल परिवारलाई शुभकामना दिँदै उनले आगामी यात्रा अझ प्रभावकारी र विश्वसनीय बन्ने विश्वास व्यक्त गरे।

एनआरएनए आईसीसीका उपाध्यक्ष प्रवीण गुरुङले जनसवालले स्वदेशसँगै विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको आवाजलाई राष्ट्रिय बहससँग जोड्दै आएको बताए। प्रवासी नेपालीको श्रम, सीप, संघर्ष, उपलब्धि, अधिकार, लगानी र समस्यालाई निरन्तर उठाउँदै आएको उल्लेख गर्दै उनले स्वदेश र प्रवासबीच सञ्चारमाध्यमले सेतुको भूमिका निर्वाह गर्नुपर्ने बताए।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले दुई दशकसम्म राष्ट्रिय दैनिक सञ्चालन गर्नु महत्वपूर्ण उपलब्धि भएको बताए। उनले जनसवाललाई ‘निमुखाको आवाज’ का रूपमा चित्रण गर्दै श्रमजीवी तथा आमनागरिकका सवाललाई आगामी दिनमा पनि प्राथमिकतामा राख्न आग्रह गरे।

वैदेशिक रोजगारका सवालमा निरन्तर आवाज

जनसवालले वैदेशिक रोजगार क्षेत्रका समस्या र प्रवासी नेपालीका सवाललाई लामो समयदेखि प्राथमिकताका साथ उठाउँदै आएको वक्ताहरूले स्मरण गरे।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष भुवनसिंह गुरुङले वैदेशिक रोजगार लाखौँ नेपालीको जीवन, परिवार र मुलुकको अर्थतन्त्रसँग जोडिएको विषय भएकाले यस क्षेत्रका समस्या र सम्भावनालाई तथ्यपरक रूपमा सार्वजनिक बहसमा ल्याउनुपर्ने बताए।

संघका महासचिव हरि डाँगीले व्यवसायी र सरकारबीच संवादको वातावरण निर्माण गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै जनसवालले यस क्षेत्रमा निरन्तर योगदान दिँदै आएको बताए।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रामप्रसाद गैरेले पत्रकारिताले तथ्य, प्रमाण र गहिरो अध्ययनका आधारमा विषयवस्तुलाई सार्वजनिक बहसमा ल्याउनुपर्ने बताए।

‘जनसवालको यात्रा साझा उपलब्धि हो’

कार्यक्रममा जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा प्रधान सम्पादक रामजी बगालेले दुई दशकको यात्रालाई आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण सहयात्रीको साझा उपलब्धिका रूपमा स्मरण गरे।

सीमित स्रोतसाधन र कठिन परिस्थितिबाट सुरु भएको जनसवाललाई आजको अवस्थामा ल्याउन पाठक, पत्रकार, सञ्चारकर्मी, लेखक, स्तम्भकार, कर्मचारी, विज्ञापनदाता, व्यवसायी, उद्योगी, गैरआवासीय नेपाली तथा शुभेच्छुकको महत्वपूर्ण योगदान रहेको उनले बताए।

बगालेले पाठकको विश्वासलाई जनसवालको सबैभन्दा ठूलो पूँजीका रूपमा उल्लेख गर्दै आगामी दिनमा पनि जिम्मेवार, तथ्यपरक र जनमुखी पत्रकारितामार्फत उक्त विश्वास कायम राख्ने प्रतिबद्धता व्यक्त गरे।

उनले पत्रकारिता समाचार प्रकाशन गर्ने माध्यम मात्र नभई समाजप्रतिको दायित्व र लोकतन्त्रको पहरेदारसमेत भएको बताए। सत्ता र शक्तिलाई आवश्यक पर्दा प्रश्न गर्ने, गलत प्रवृत्तिमाथि खबरदारी गर्ने तथा जनताको पक्षमा सत्य बोल्ने पत्रकारिताबाट जनसवाल विचलित नहुने उनको भनाइ थियो।

खोजमूलक र डिजिटल पत्रकारितामा जोड

अध्यक्ष बगालेले आगामी दिनमा खोजमूलक पत्रकारितालाई थप सशक्त बनाउँदै तथ्यमा आधारित समाचार, विश्लेषण र जनसरोकारका विषयलाई प्राथमिकता दिने बताए।

विश्वभर छरिएका नेपालीका समस्या, संघर्ष, उपलब्धि, श्रम, सीप, लगानी, सामाजिक सुरक्षा तथा मातृभूमिप्रतिको योगदानलाई राष्ट्रिय बहससँग जोड्ने कामलाई अझ प्रभावकारी बनाउने उनले बताए।

छापा पत्रकारितासँगै डिजिटल उपस्थितिलाई सुदृढ गर्दै समय र प्रविधिको मागअनुसार पाठकमैत्री, विश्वसनीय र प्रभावकारी सामग्री प्रस्तुत गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

‘समय र माध्यम परिवर्तन हुन सक्छन्, तर सत्य, तथ्य, निष्पक्षता, उत्तरदायित्व र जनहितप्रतिको प्रतिबद्धता परिवर्तन हुँदैन’ भन्ने धारणा राख्दै बगालेले जनसवालको आगामी यात्रा पनि यही मूल्यमान्यताबाट निर्देशित हुने बताए।

२१औँ वर्षमा नयाँ प्रतिबद्धता

दुई दशकको यात्रामा जनसवालले नेपालको राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक परिवर्तनसँगै प्राकृतिक विपत्ति, आर्थिक संकट, श्रम तथा वैदेशिक रोजगारका सवाल र विश्वभर छरिएका नेपालीका समस्या तथा उपलब्धिलाई सार्वजनिक बहसमा ल्याउँदै आएको छ।

केक काटेर मनाइएको वार्षिकोत्सव समारोहमा सहभागी अतिथिहरूले जनसवालको २० वर्षे यात्रा नेपाली पत्रकारितामा निरन्तरता, संघर्ष र प्रतिबद्धताको उदाहरण भएको बताए।

विविध सांगीतिक प्रस्तुति तथा शुभकामना आदानप्रदानसहित सम्पन्न समारोहमा जनसवाल परिवारले दुई दशकसम्म साथ, सहयोग, विश्वास र सद्भाव प्रदान गर्ने पाठक, पत्रकार, सञ्चारकर्मी, लेखक, स्तम्भकार, कर्मचारी, विज्ञापनदाता, व्यवसायी, उद्योगी, वैदेशिक रोजगार व्यवसायी, गैरआवासीय नेपाली तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।