जनकपुर — नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएका छन्।

बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारले निर्वाचनको वातावरण निर्माण गर्न गम्भीर हुनुपर्ने बताए। “निर्वाचन तोकिएको समयमा हुनुपर्छ,” प्रचण्डले भने, “सरकारले यसलाई गम्भीरतापूर्वक लिएर वातावरण बनाउनुपर्छ।”
उनका अनुसार हालै मात्र दलहरूसँग भएको वार्ताबाट सरकार निर्वाचनतर्फ गम्भीर हुँदै गएको आभास भए पनि अझै आवश्यक तयारी बाँकी रहेको छ।
प्रचण्डले असाधारण परिस्थितिमा बनेको अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेकाले अब सबै राजनीतिक दलहरू निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए। “निर्वाचनमा केन्द्रित हुनुपर्ने निर्णय गर्ने पहिलो पार्टी माओवादी केन्द्र नै हो,” उनले दाबी गरे।
जेन-जी आन्दोलनपछि काठमाडौं उपत्यकाबाहिर मधेश प्रदेशमा सार्वजनिक कार्यक्रम गर्ने पहिलो पार्टी माओवादी केन्द्र भएको पनि प्रचण्डले बताए।
महोत्तरीको रामगोपालपुरमा माओवादी केन्द्रले आयोजना गरेको पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा उनले वामपन्थी एकता र ध्रुवीकरणबारे पनि बोले। “निर्वाचन त हुनैपर्छ र वामपन्थी एकता र ध्रुवीकरण पनि निरन्तर अगाडि बढ्दै जानेछ,” प्रचण्डले भने। उनका अनुसार समाजवादी मोर्चामा रहेका दलबीच एकता प्रक्रिया क्रमशः अघि बढिरहेको छ।
















Comments