
काठमाडौं। मेचीदेखि महाकालीसम्म फैलिएको देशकै मुख्य यातायात ‘लाइफलाइन’, पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) अहिले एसियाली मापदण्डअनुसार विस्तार भइरहेको छ। दक्षिण एसिया क्षेत्रीय आर्थिक सहकार्य (सासेक–SASEC) कार्यक्रमअन्तर्गत विभिन्न दातृ निकायको ऋण तथा अनुदान सहयोगमा राजमार्गका छ वटा खण्डमा निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।
दुई लेन चौडाइ भएको राजमार्ग अहिले सहरी क्षेत्रमा सर्भिस लेनसहित छ लेन र वनजङ्गल तथा सवारी चाप कम भएका क्षेत्रमा चार लेनमा विस्तार भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर सुशीलबाबु ढकालले जानकारी दिए । छ खण्डमा विस्तार भइरहेकाे छ।
जसमा काँकडभिट्टा–इटहरी ९३ किमि, कञ्चनपुर–कमला ८६.८३ किमि, कमला–ढल्केबर–पथलैया (१३० किमि, नारायणगढ–बुटवल ११३ किमि, बुटवल–गोरुसिङ्गे–चनौटा ६९ किमि, कपिलवस्तु–दाङ/धानखोला–शिवखोला ४० किमि पर्छन् ।
यीमध्ये कमला–ढल्केबर–पथलैया र बुटवल–गोरुसिङ्गे–चनौटा खण्ड विश्व बैङ्कको सहुलियतपूर्ण ऋणमा, काँकडभिट्टा–इटहरी, कञ्चनपुर–कमला, र नारायणगढ–बुटवल खण्ड एडीबीको सहयोगमा, भने कपिलवस्तु–दाङ/धानखोला–शिवखोला खण्ड एमसिसी परियोजनाअन्तर्गत निर्माणाधीन छन् ।
२०७५ सालदेखि ठेक्का प्रक्रिया सुरु भए पनि एमसिसी अन्तर्गतको खण्डबाहेक अरू कुनै खण्डको काम अझै पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन । काँकडभिट्टा–इटहरी खण्डको ठेक्का २०८० असोज २३ गतेदेखि कार्यान्वयनमा आएको हो ।
अहिलेसम्म २१ प्रतिशत भौतिक प्रगति भएको छ । रुख कटान, विद्युत्–खानेपानी संरचना हटाउने, माटो पुर्ने र पुल तथा कलभर्ट निर्माण भइरहेको एडीबी निर्देशनालय प्रमुख चूडाराज ढकालले जानकारी दिए ।
आयोजनाको कुल लागत ३४ अर्ब ९१ करोड रुपैयाँ रहेकोमा हालसम्म ६ अर्ब ६८ करोड रुपैयाँ खर्च भइसकेको छ । निन्दा, बिरिङ, कन्काई, रतुवा, बक्राहा र लोहन्द्रा नदीका पुलहरूको स्तरोन्नति गर्नुपर्नेछ। योजना २०८३ माघ १८ गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ ।
कञ्चनपुर–कमला खण्डमा २०७७ असार ११ गते ठेक्का सम्झौता भएको यस खण्डको निर्माण म्याद थपिएर २०८३ पुस १६ गतेसम्म पुर्याइएको छ । हालसम्म ५०.३ प्रतिशत भौतिक र ५६.२ प्रतिशत वित्तीय प्रगति भएको छ । १५ अर्ब ६६ करोड रुपैयाँ लागत रहेको परियोजनामा दुई खण्डमा विस्तार कार्य भइरहेको छ ।
यस खण्डमा ५४ मुख्य पुल, २१८ कलभर्ट र करिब ७५ किलोमिटर ड्रेन निर्माण गर्नुपर्नेछ । कमला–ढल्केबर–पथलैया खण्डमा ठेक्का सम्झौता २०८१ पुस १७ गते भएको हो । तीन वर्षभित्र (२०८४ पुस १६ गतेसम्म) सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु भइसकेको छ । हालसम्म १०.९१ प्रतिशत भौतिक र १०.२६ प्रतिशत वित्तीय प्रगति भएको छ। कुल लागत ३२ अर्ब ३० करोड रुपैयाँ रहेकोमा ३ अर्ब ६ करोड रुपैयाँ खर्च भइसकेको छ।
नारायणगढ–बुटवल खण्डकाे २०७५ पुस ४ गते काम सुरु भएको यो खण्ड २०७९ साउन २२ गतेभित्र सम्पन्न गर्ने लक्ष्य थियो। हाल ६९.१८ प्रतिशत भौतिक र ६२.४० प्रतिशत वित्तीय प्रगति भएको छ। परियोजनाको म्याद २०८३ साउन ७ गतेसम्म थपिएको छ। सुरुवाती लागत १६ अर्ब ९९ करोड रुपैयाँ रहेकामा अहिले १७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ।
बुटवल–गोरुसिङ्गे–चनौटा खण्डकाे ठेक्का आर्थिक वर्ष २०८०/८१ मा भएको हो। आर्थिक वर्ष २०८४/८५ भित्र काम पूरा गर्ने लक्ष्य राखिएको छ। हालसम्म १२.३३ प्रतिशत भौतिक र ८.७५ प्रतिशत वित्तीय प्रगति भएको छ। आयोजनाको कुल लागत १८ अर्ब रुपैयाँ रहेको छ। राजमार्ग विस्तार सम्पन्न भएपछि तराई मधेशका सहरहरूबीच यातायात सहज हुने, पारवहन समय घट्ने, र देशको आधाभन्दा बढी जनसंख्या प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ।
















Comments