
काठमाडौँ, – प्रतिनिधिसभा निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ। निर्वाचन आयोगले दल दर्ता प्रक्रिया पूरा गरिसकेको छ भने सरकारले निर्वाचन सहज बनाउन आवश्यक तयारी पूरा गरेको छ।
देशभर राजनीतिक दलहरूले उम्मेदवार छनोट, अभियान र सभाहरू सञ्चालन गर्दै निर्वाचनको माहोल सिर्जना गरेका छन्। नेपाली कांग्रेसले देशव्यापी रूपमा उम्मेदवार चयन गर्दै चुनाव तयारी अघि बढाएको छ।
नेकपा (एमाले)को ११औँ महाधिवेशन शनिबारदेखि सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीले निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सरकारको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले देशभर सन्देशसभा आयोजना गर्दै निर्वाचन मितिमा चुनाव सम्पन्न हुनुपर्ने स्पष्ट संदेश दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिक उम्मेदवारको आवेदन र भेला सभाहरूमार्फत निर्वाचन अभियान अघि बढाएको छ।
निर्वाचन आयोगले समानुपातिक प्रणालीको प्रतिशत निर्धारण प्रक्रिया अघि बढाइसकेको छ। दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू र मुस्लिम समूहका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रअनुसार प्रतिशत निर्धारण हुनेछ।
समानुपातिकतर्फ एक सय दल दर्ता भइसकेका छन् भने प्रत्यक्षतर्फ ११४ दल सहभागी हुनेछन्। गृह मन्त्रालयले शान्ति सुरक्षा कायम गर्दै निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन तयारी गरेको छ।
















Comments