
काठमाडौँ, पुस १४ — जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टी (जसपा) का सहअध्यक्ष रेणु यादव पक्षबीच पार्टी एकताको सहमति भएको छ। आज दुबै पक्षबीच एकताको सहमतिमा औपचारिक रूपमा हस्ताक्षरसमेत गरिएको छ।
यसअघि आइतबार तराई मधेस लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टी नेपालबीच पनि एकताको सहमति भएको थियो। पछिल्लो सहमतिले मधेस केन्द्रित दलहरूबीच एकता प्रक्रिया तीव्र हुँदै गएको संकेत गरेको छ।
विगतमा एउटै दलमा रहेर राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका दुबै पक्षले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै पार्टी एकताको निर्णय गरेका हुन्। मधेस आन्दोलनबाट प्राप्त संघीयता र गणतन्त्रको संरक्षण तथा संवर्द्धन, साथै मधेस र मधेसी जनताको अधिकार सुनिश्चितता एकताको प्रमुख उद्देश्य रहेको जनाइएको छ।
रेणु यादव पक्षका नेता प्रदीप यादवका अनुसार जनता समाजवादी पार्टीका बहुमत केन्द्रीय सदस्यहरू उपेन्द्र यादव नेतृत्वको पुरानै पार्टीमा एकीकृत हुने तय भएको छ। बदलिँदो राजनीतिक परिवेशमा जसपा नेपाल र जसपाबीचको एकता अपरिहार्य रहेको उल्लेख गर्दै उनले मधेसी जनताको चाहना र जनअपेक्षालाई आत्मसात गर्दै एकताको घोषणा गरिएको बताए।
पार्टी एकताले मधेस केन्द्रित राजनीतिमा नयाँ शक्ति सन्तुलन सिर्जना गर्ने र आगामी निर्वाचनमा यसको प्रभाव देखिने अपेक्षा गरिएको छ।
















Comments