
भारतीय गायन र अभिनय क्षेत्रका चर्चित कलाकार तथा Indian Idol Season 3 का विजेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा निधन भएको छ। हृदयाघात भएपछि उनलाई नयाँदिल्लीको द्वारकास्थित अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
परिवारका सदस्य र नजिकका स्रोतहरूका अनुसार तामाङ हालै अरुणाचल प्रदेशमा आयोजित कार्यक्रममा सहभागी भएर राजधानी फर्किएका थिए। निधनअघि कुनै गम्भीर स्वास्थ्य समस्या देखिएको थिएन।
सन् १९८३ जनवरी ४ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका तामाङ साधारण पारिवारिक पृष्ठभूमिबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म परिचित बनेका थिए। कम उमेरमै पिता गुमाएपछि परिवारको जिम्मेवारी सम्हाल्दै उनले कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा सेवा गरेका थिए र प्रहरी ब्याण्डमा गायन गर्दै आफ्नो सांगीतिक यात्रा अघि बढाएका थिए।
सन् २००७ मा Indian Idol Season 3 जितेपछि उनको जीवनले नयाँ मोड लियो। उक्त सफलताले उनलाई भारतसहित विश्वभर छरिएका नेपाली भाषी समुदायका लागि प्रेरणाको प्रतीक बनायो।
गायनसँगै उनले अभिनय क्षेत्रमा पनि सक्रियता देखाएका थिए। नेपाली चलचित्र ‘गोर्खा पल्टन’ मा उनको अभिनय दर्शकबाट सकारात्मक रूपमा ग्रहण गरिएको थियो। पछिल्ला वर्षहरूमा उनले भारतीय वेब सिरिज ‘Paatal Lok’ Season 2 तथा सलमान खानको चलचित्र ‘Battle of Galwan’ मा समेत अभिनय गरेका थिए।
कलाकार तथा सहकर्मीहरूले तामाङलाई सरल, मिलनसार र बहुआयामिक प्रतिभाका रूपमा सम्झिएका छन्। उनी नेपाली भाषा बोल्ने समुदायलाई सीमा र नागरिकताभन्दा बाहिर सांगीतिक रूपमा जोड्ने कलाकारका रूपमा परिचित थिए।
तामाङका श्रीमती र एक छोरी छन्। उनी नयाँदिल्लीको जनकपुरीमा बसोबास गर्दै आएका थिए। उनको निधनले नेपाली तथा भारतीय सांगीतिक र कला क्षेत्रमा ठूलो क्षति पुगेको छ।
















Comments