धादिङ। उज्यालो नेपाल पार्टीले धादिङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि श्यामराज पाण्डेलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ। लामो समयदेखि वाम राजनीतिमा सक्रिय पाण्डे निरन्तर राजनीतिक यात्राका कारण परिचित छन्।


पाण्डे करिब १० वर्षकै उमेरमा २०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित हुँदै राजनीतिमा प्रवेश गरेका थिए। २०३७ सालको बहुदलीय निर्वाचनमा बहुदल जिताउन ‘इन्कलव–जिन्दाबाद’ नारासहित चुनाव प्रचारमा सहभागी हुँदै उनले सक्रियता देखाएका थिए।


२०३७ सालदेखि अखिल नेपाल विद्यार्थी संगठन (छैठौं) र नेकपा मसाल (मोहन विक्रम समूह) मा आबद्ध पाण्डे २०३९ सालमा संगठनबाट विद्रोह गरी अखिल नेपाल विद्यार्थी संगठन (पाँचौं) तथा नेकपा (माले) मा संलग्न भए। २०४४ सालमा नेकपा (माले) बाट अलग भई पुनः नेकपा मसाल (मोहन विक्रम समूह) मा आबद्ध भएका उनी २०४८ सालमा त्यहाँबाट पनि विद्रोह गर्दै नेकपा (मशाल) प्रचण्ड समूहमा प्रवेश गरे।


२०४९ सालमा नेकपा मशाल प्रचण्ड समूहसहित मर्ज भएर बनेको नेकपा एकता केन्द्रमा आबद्ध पाण्डे २०५१ सालमा एकता केन्द्र विभाजनपछि बनेको नेकपा (माओवादी) मा निरन्तर सक्रिय रहे। २०७० सालमा माओवादी विभाजनपछि बनेको नेकपा (माओवादी केन्द्र) मा समेत उनको निरन्तर संलग्नता रह्यो।


हालै नेकपा माओवादी केन्द्रलगायत विभिन्न दलहरू मर्ज भएर बनेको नेपाली कम्युनिष्ट पार्टीबाट २०८२ पुस १७ गते विद्रोह गरी पाण्डे उज्यालो नेपाल पार्टीमा आबद्ध भएका हुन्। पार्टीले उनलाई धादिङ–१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारका रूपमा अघि सारेको छ।


उज्यालो नेपाल पार्टीका नेताहरूका अनुसार पाण्डेको लामो राजनीतिक अनुभव, संगठन निर्माणमा योगदान र स्थानीयस्तरमा रहेको जनसम्पर्कलाई ध्यानमा राख्दै उम्मेदवारी सिफारिस गरिएको हो।