काठमाडौं। आगामी निर्वाचन फागुन २१ नजिकिँदै जाँदा काठमाडौं क्षेत्र नम्बर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार बालचन्द्र श्रेष्ठको चुनावी सक्रियता उल्लेख्य रूपमा बढ्दै गएको छ। उनको सक्रियता संगै उनको एउटा एजेन्डाले दुई नम्बर क्षेत्रका जनताको मन ह्वात्तै पग्लिएकाे। त्यो एजेन्डा हाे उपत्यकाका तीन जिल्लाका छुट्टै प्रदेश बनाउने एजेन्डा। लामो राजनीतिक अनुभव, उच्च शैक्षिक योग्यता र स्पष्ट विकास एजेन्डाका कारण श्रेष्ठको उम्मेदवारीले क्षेत्रभित्र छुट्टै चर्चा पाएको देखिन्छ।
प्रलोपा बाट “आँखा” चुनाव चिह्न लिएर मैदानमा उत्रिएका श्रेष्ठ विशेषगरी काठमाडौं उपत्यकालाई छुट्टै प्रदेश बनाउने मुद्दालाई मुख्य एजेन्डाका रूपमा लिएर मतदातामाझ पुगेका छन्। स्थानीय स्तरमा आयोजना भइरहेका घरदैलो, अन्तरक्रिया र टोलभेलाहरूमा यो विषयले बहसको केन्द्र समातेको छ।

काे हुन श्रेष्ठ ?
राजनीतिक यात्रा: भूमिगतदेखि केन्द्रीय तहसम्म
बालचन्द्र श्रेष्ठको राजनीतिक यात्रा लामो र विविध अनुभवले भरिएको छ। उनी २०५४ सालतिर नेकपा मालेको भूमिगत राजनीतिमा सक्रिय भएको बताइन्छ। त्यसपछि एमाले, माले, माओवादी हुँदै नयाँ शक्तिसम्मको राजनीतिक यात्रामा उनले विभिन्न जिम्मेवारी सम्हाले।


माओवादीको समयमा उनी केन्द्रीय सदस्य समेत भएका थिए भने संगठनात्मक संरचनामा इन्द्रेणी इन्चार्ज को भूमिकामा पनि रहे। अहिले उनी प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय लेखा आयोग मा आबद्ध छन्। लामो समय विभिन्न विचारधारात्मक धारहरूमा काम गरेको अनुभवले आफूलाई व्यवहारिक राजनीतितर्फ उन्मुख बनाएको उनी निकटवर्तीहरू बताउँछन्।

शिक्षा र बौद्धिक छवि
श्रेष्ठको अर्को बलियो पक्ष उनको शैक्षिक पृष्ठभूमि मानिन्छ। उनले सीए, एलएलएम, एमबिए, एमए अर्थशास्त्र र बिएड जस्ता विभिन्न विषयमा अध्ययन गरेका छन्। अर्थतन्त्र, कानुन, शिक्षा र व्यवस्थापनबारेको बहुआयामिक ज्ञानले नीति निर्माणमा योगदान दिन सक्ने भन्दै समर्थकहरूले उनलाई “बौद्धिक उम्मेदवार” का रूपमा प्रस्तुत गरिरहेका छन्। स्थानीय मतदातासँगको भेटघाटमा श्रेष्ठले प्रायः आर्थिक पारदर्शिता, स्थानीय राजस्व व्यवस्थापन, र शिक्षामा सुधारजस्ता विषय उठाउने गरेका छन्।

उपत्यका छुट्टै प्रदेश’ एजेन्डा
श्रेष्ठको चुनावी अभियानको सबैभन्दा चर्चित पक्ष भनेको काठमाडौं उपत्यकालाई छुट्टै प्रदेश घोषणा गर्नुपर्ने उनको अडान हो। उनको तर्क छ देशको प्रशासनिक, आर्थिक र जनघनत्वको केन्द्र रहेको उपत्यकालाई विशेष व्यवस्थापन मोडेलमा लैजानुपर्छ।


उनका अनुसार, छुट्टै प्रदेशको संरचनाले यातायात व्यवस्थापन सुधार, प्रदूषण नियन्त्रण,
खानेपानी र फोहोर व्यवस्थापन, ऐतिहासिक–सांस्कृतिक सम्पदाको संरक्षण,पर्यटन प्रवर्द्धन जस्ता क्षेत्रमा प्रभावकारी नीति बनाउन सहज हुनेछ। यो एजेन्डाले विशेषगरी युवावर्ग र शहरी समस्याले दिक्क भएका मतदाताको ध्यान तानेको उनका चुनावी टोलीका सदस्यहरू बताउँछन्।

शंखरापुरलाई पर्यटन हब बनाउने योजना
शंखरापुर–९ साना गाउँ मा जन्मिएका श्रेष्ठले आफ्नो जन्मथलो क्षेत्रलाई पर्यटन हब बनाउने दीर्घकालीन लक्ष्य पनि सार्वजनिक गरेका छन्। प्राकृतिक सौन्दर्य, ऐतिहासिक स्थल र ग्रामीण पर्यटनको सम्भावना रहेको उक्त क्षेत्रलाई योजनाबद्ध रूपमा विकास गर्न सके स्थानीय रोजगारी सिर्जना हुने उनको भनाइ छ। स्थानीयस्तरमा होमस्टे, पदमार्ग विकास, सांस्कृतिक कार्यक्रम र जैविक कृषि पर्यटन जोडेर क्षेत्रीय अर्थतन्त्र चलायमान बनाउन सकिने उनको दृष्टिकोण छ।

सामाजिक तथा साहित्यिक संलग्नता
राजनीतिबाहेक श्रेष्ठ साहित्य र विभिन्न संघसंस्थाको नेतृत्वमा समेत सक्रिय रहेको बताइन्छ। सामाजिक काममा संलग्न छवि भएका कारण उनी केवल राजनीतिक व्यक्ति मात्र नभई सामाजिक व्यक्तित्वको रूपमा पनि चिनिन्छन् भन्ने दाबी उनका समर्थकहरूको छ।

चुनावी माहोल कस्तो?
काठमाडौं–२ मा विभिन्न दलका उम्मेदवारबीच प्रतिस्पर्धा तीव्र बन्दै जाँदा श्रेष्ठको अभियानले पनि गति लिएको छ।टोलस्तरका भेटघाटमा उनी स्वयं उपस्थित भई मतदाताका गुनासा सुन्ने र समाधानका खाका प्रस्तुत गर्ने शैली अपनाइरहेका छन्।


स्थानीय बौद्धिक वर्ग, केही युवा समूह र पेशागत पृष्ठभूमिका मतदातामाझ उनको प्रस्तुति सकारात्मक रूपमा लिइएको देखिन्छ। विशेषगरी सुशासन, आर्थिक अनुशासन र शहरी व्यवस्थापनका विषयमा स्पष्ट धारणा राख्ने उम्मेदवारका रूपमा उनी चिनिन थालेका छन्।

लामो राजनीतिक अनुभव, उच्च शैक्षिक योग्यता, सामाजिक संलग्नता र “उपत्यका छुट्टै प्रदेश” जस्तो बहस योग्य एजेन्डाका कारण बालचन्द्र श्रेष्ठको उम्मेदवारी काठमाडौं–२ मा चर्चाको विषय बनेको छ। चुनावी मैदानमा अन्तिम निर्णय मतदाताकै हातमा रहने भए पनि, अहिलेको अवस्था हेर्दा श्रेष्ठको चुनावी माहोल क्रमशः सुदृढ बन्दै गएको आकलन गरिन्छ। आगामी दिनमा उनका एजेन्डा कत्तिको प्रभावकारी रूपमा मतदातासम्म पुग्छन् र जनमत कता मोडिन्छ भन्ने कुरा नै परिणामको मुख्य आधार बन्नेछ।