
काठमाडौं। अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघले आगामी २०८२ फागुन २१ गते हुने निर्वाचनमा सम्पूर्ण श्रमिकलाई मतदान गर्न सहज वातावरण मिलाइदिन सम्बन्धित निकाय र व्यवस्थापन पक्षलाई आग्रह गरेको छ।
संघका अध्यक्ष कुमार पन्तले हस्ताक्षर गरेको पत्रमार्फत होटल तथा रेष्टुरेन्ट क्षेत्रका श्रमिकहरूलाई मतदानमा सहभागी हुन पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न अनुरोध गरिएको हो। पत्रमा सरकारले निर्वाचनको दिन सार्वजनिक बिदा घोषणा गरिसकेको सन्दर्भ उल्लेख गर्दै श्रमिकहरूलाई मताधिकार प्रयोग गर्न आवश्यक सहजीकरण गर्नुपर्ने बताइएको छ।

संघले लोकतान्त्रिक प्रक्रियामा श्रमिकहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै निर्वाचनमा आफ्नो मत प्रयोग गर्नु श्रमिकहरूको अधिकार मात्र नभई दायित्वसमेत भएको जनाएको छ। साथै, मतदानमा सहभागी हुन नपाउने अवस्थाको अन्त्य गर्न व्यवस्थापन पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिइएको छ।
यसैबीच, होटल शंकरमा आयोजित कार्यक्रममा बोल्दै संघका अध्यक्ष पन्तले श्रमिक एकता र अधिकार संरक्षणका विषयमा आफ्नो धारणा राखेका थिए। कार्यक्रममा श्रमिक हकहित र निर्वाचन सहभागिताका विषयमा विशेष चर्चा गरिएको थियो।

संघले श्रमिकमैत्री वातावरण निर्माण गर्दै लोकतान्त्रिक प्रक्रियामा सबैको समान पहुँच सुनिश्चित गर्न आग्रह गरेको छ।
















Comments