काठमाडौँ। फुटबलको महाकुम्भ फिफा विश्वकप, २०२६ आज रातिबाट सुरु हुँदैछ। फुटबल इतिहासमै पहिलोपटक तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको उद्घाटन नेपाली समयअनुसार आज राति १२ः४५ बजे हुनेछ।

जुलाई १९ मा न्युयोर्कमा समापन हुने प्रतियोगिताको सुरुवात तीनै आयोजक राष्ट्रमा विशेष उद्घाटन समारोहसहित गरिनेछ। पहिलो समारोह मेक्सिको सिटी, दोस्रो क्यानडाको टोरन्टो र तेस्रो अमेरिकाको लस एन्जलसमा आयोजना हुनेछ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ।

यसपटकको विश्वकपमा पहिलोपटक ४८ राष्ट्रले सहभागिता जनाएका छन्। यसअघि ३२ टोलीले मात्र प्रतिस्पर्धा गर्दै आएका थिए। प्रतियोगिता अमेरिका, मेक्सिको र क्यानडाका १६ सहरस्थित १६ रंगशालामा सञ्चालन हुनेछ।

अघिल्ला संस्करणमा ६४ खेल हुँदै आएकोमा यसपटक फाइनलसहित कुल १०४ खेल खेलाइनेछन्।

पाँच पटकको विश्व विजेता ब्राजिल लगातार २३औँ पटक विश्वकप खेल्दैछ। साबिक विजेता अर्जेन्टिना, फ्रान्स, स्पेन, पोर्चुगल, नेदरल्यान्ड्स र ब्राजिललाई उपाधिका प्रमुख दाबेदारका रूपमा हेरिएको छ।

यस संस्करणमा उज्वेकिस्तान, केप भर्डे, कुराकाओ र जोर्डनले पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदै छन्। यस्तै कतार, हाइटी, न्युजिल्यान्ड, इजिप्ट, इराक र क्यानडा पनि विश्वकप इतिहासमा पहिलो जितको खोजीमा रहनेछन्।

तर चार पटकको विश्व च्याम्पियन इटालीसहित पोल्यान्ड, डेनमार्क, नाइजेरिया र क्यामरुनजस्ता चर्चित टोली भने यसपटक विश्वकपमा स्थान बनाउन असफल भएका छन्।

विश्व फुटबलका सुपरस्टारहरू पनि यसपटकको प्रतियोगितामा आकर्षणको केन्द्र रहनेछन्। ब्राजिलका नेयमार, अर्जेन्टिनाका लियोनल मेसी, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, फ्रान्सका केलियन एम्बाप्पे तथा स्पेनका युवा स्टार लामिन यमाललगायतका खेलाडीहरू मैदानमा उत्रिनेछन्।

४८ राष्ट्र, १०४ खेल र तीन आयोजक राष्ट्रको ऐतिहासिक संयोजनसँगै फिफा विश्वकप, २०२६ लाई अहिलेसम्मकै सबैभन्दा भव्य र प्रतिस्पर्धात्मक संस्करणका रूपमा हेरिएको छ।