
काठमाडौं। नेकपा संयोजक प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलन अझै पनि जनतामाझ प्रभावशाली रहेको दाबी गर्दै श्रमजीवी वर्ग र कम्युनिस्ट शक्तिबीच नयाँ ढंगले एकता आवश्यक रहेको बताएका छन्।
निर्मल लामाकाे २६औँस्मृति सभालाई सम्बोधन गर्दै उनले विगतका उपलब्धिको मात्रै चर्चा गरेर वर्तमान आवश्यकता पूरा गर्न नसकिने बताएका हुन्।
हिजो यसो गर्यौं, त्यसो गर्यौं भनेर मात्रै पुग्दैन, अहिले नयाँ शिराबाट विचार, राजनीति र संगठनलाई पुनः निर्माण गर्नुपर्ने अवस्था आएको छ, प्रचण्डले भने।
उनले विगतमा कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने प्रयासस्वरूप बनेको गठबन्धनलाई जनताले उत्साहपूर्वक समर्थन गरेको स्मरण गरे। निर्वाचनमा झण्डै दुईतिहाइ बहुमत नजिक पुगेको उल्लेख गर्दै उनले नेपाली जनताले कम्युनिस्ट शक्तिबीचको एकतालाई सकारात्मक रूपमा हेरेको बताए।
प्रचण्डका अनुसार श्रमजीवी वर्ग र कम्युनिस्ट आन्दोलनबीचको सम्बन्धलाई बलियो बनाउन आवश्यक विकास हुन नसक्दा विगतका एकताका प्रयास दिगो बन्न सकेनन्। उनले एकता र विभाजनका अनेक चरण पार गर्दै आएको कम्युनिस्ट आन्दोलन अहिले फेरि नयाँ मोडमा पुगेको बताए।
देशमा साम्राज्यवादी हस्तक्षेप बढ्दो अवस्थामा रहेको दाबी गर्दै उनले कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने प्रयास अझै पूर्ण रूपमा सतहमा नआएको टिप्पणी गरे।
सम्बोधनका क्रममा प्रचण्डले आत्मसमीक्षाको आवश्यकता औंल्याउँदै कम्युनिस्ट नेतृत्वबाट श्रमजीवी वर्गप्रति कमजोरी भएको स्वीकार गरे।
हामीले कहाँ गल्ती गर्यौं भन्ने गम्भीर समीक्षा गरेर नयाँ ढंगले आन्दोलन अगाडि बढाउन जरुरी छ, उनले भने।
उनले जनयुद्ध, जनआन्दोलन र विभिन्न राजनीतिक अभियानबाट प्राप्त उपलब्धिलाई जोगाउन पुनः कम्युनिस्ट एकताको आधार खोज्नुपर्ने अवस्था आएको निष्कर्ष समेत प्रस्तुत गरे।
You must be logged in to post a comment.