काठमाडौँ — नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीमाथि महिलाप्रति नकारात्मक दृष्टिकोण राख्दै बारम्बार अपमानजनक अभिव्यक्ति प्रयोग गर्ने गरेको आरोप लगाएकी छन्। आगामी साता काठमाडौं र भक्तपुरमा हुन लागेको एमालेको ११औँ महाधिवेशनलाई लक्षित गर्दै मंगलबार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले यस्तो आरोप सार्वजनिक रुपमा व्यक्त गरेकी हुन् ।


शाक्यका अनुसार ओलीले केही दिनअगाडि सञ्चारमाध्यमसँगको कुराकानीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गर्दै ‘धामीझाँक्री’ शैलीको टिप्पणी गरेका थिए। देशको सर्वोच्च पद सुरक्षित हातमा रहनुपर्ने भन्दै उनले पूर्वराष्ट्रपति जस्तो संवैधानिक पदाधिकारीलाई हुने प्रकारको सम्मान समेत नदिएको आरोप लगाइन्।


उनले भनिन्, “साधारण महिलासँग पनि यस्तो अपमानजनक भाषा प्रयोग हुँदैन, पूर्वराष्ट्रपतिसँग त झन् हुनु हुँदैन। तर अध्यक्ष ओलीलाई भने यस्ता टिप्पणी गर्न सजिलो जस्तै देखिन्छ। महिलाप्रति सकारात्मक सोच नै नभएको प्रमाण यही हो।”


महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको समयमा शीर्ष नेतृत्वबाट यस्तो टिप्पणी आउनु आफैँमा आपत्तिजनक भएको पनि उनले बताइन्। समाजमा महिला अधिकारको संरक्षण र सम्मानबारे बहस बढिरहेको बेला पार्टी अध्यक्षकै भाषाले नकारात्मक प्रभाव पर्ने बताउँदै उनले यसका विरुद्ध आवाज उठाउन सबै महिला, राजनीतिकर्मी र नागरिक समाज एकजुट हुनुपर्ने धारणा राखिन्।


शाक्यका अनुसार देशमा महिला नेतृत्वको भूमिका बढ्दै गएको समयमा महिला अपमान गर्ने प्रवृत्ति स्वीकार्य हुन सक्दैन। उनले महिलाप्रति अवमूल्यन गर्ने पात्र आजको नेतृत्वको प्राथमिक आवश्यकतासँग मेल नखाने टिप्पणी गरिन्।