
काठमाडौँ। विश्वकप फुटबल २०२६ को सेमिफाइनल र फाइनलमा अनुशासनविपरीत गतिविधि गरेको भन्दै फिफाले अर्जेन्टिना फुटबल संघ (एएफए), प्रशिक्षक तथा खेलाडीमाथि कडा कारबाही गरेको छ।
फिफाले अनुशासन संहिता उल्लंघन गरेको भन्दै एएफएमाथि कुल ३ लाख २१ हजार अमेरिकी डलर जरिवाना गरेको छ। गैरखेलकुद गतिविधिका लागि खेलकुद कार्यक्रम प्रयोग गरेको, टोलीको अनुशासन उल्लंघन गरेको तथा समर्थकबाट भेदभावपूर्ण नारा र हाउभाउ भएको आरोपमा कारबाही गरिएको हो।
जरिवानामध्ये १ लाख डलर भेदभावविरुद्धका कार्यक्रम सञ्चालनमा खर्च गर्नुपर्नेछ भने थप १ लाख डलरको जरिवाना निलम्बित गरिएको छ।
इंग्ल्याण्डविरुद्धको सेमिफाइनल जितपछि अर्जेन्टिनी खेलाडीले ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ अर्थात् ‘फकल्यान्ड टापु अर्जेन्टिनाको हो’ भन्ने सन्देश लेखिएको ब्यानर प्रदर्शन गरेका थिए। फकल्यान्ड टापु बेलायतको अधीनमा रहेको विदेशी भूभाग हो।
फिफाले अर्जेन्टिनालाई आफ्नै मैदानमा हुने आगामी दुई अन्तर्राष्ट्रिय खेलमध्ये एकमा ५० प्रतिशत मात्र दर्शक प्रवेश गराउने निर्णयसमेत गरेको छ। अर्को खेलमा लगाइएको प्रतिबन्ध भने हाललाई निलम्बित गरिएको छ।
फाइनलमा स्पेनसँग पराजित भएपछि भएको झडपमा संलग्न अर्जेन्टिनी खेलाडी र टोलीका सदस्यलाई पनि फिफाले कारबाही गरेको छ।
अर्जेन्टिनाका मिडफिल्डर लियान्द्रो पारेडेसलाई १० खेलको प्रतिबन्ध र ९० हजार डलर जरिवाना गरिएको छ। उनले स्पेनका एरिक गार्सियाको घाँटी समातेका तथा गाभीमाथि हातपात गरेको घटनालाई कारबाहीको आधार बनाइएको छ।
अर्का अर्जेन्टिनी खेलाडी नाहुएल मोलिनालाई सात खेलको प्रतिबन्ध र ९० हजार डलर जरिवाना गरिएको छ। स्पेनको जितपछि म्यान अफ द म्याच रोड्री खुसी मनाउँदै दौडिरहेका बेला मोलिनाले मुक्का प्रहार गरेको घटनासँग उनको कारबाही जोडिएको छ।
स्पेनका गाभीलाई पनि घटनामा संलग्न भएको भन्दै एक खेलको प्रतिबन्ध र ३० हजार डलर जरिवाना गरिएको छ। अर्जेन्टिनाका थियागो अल्माडामाथि पनि समान कारबाही भएको छ।
अर्जेन्टिनी टोलीका सदस्य रोबर्टो अयालालाई स्पेनका डानी ओल्मोको अनुहारमा प्रहार गरेको भन्दै तीन खेलको प्रतिबन्ध र ३० हजार डलर जरिवाना गरिएको छ।
फिफाको निर्णयले विश्वकप फाइनलमा भएको झडपसँगै सेमिफाइनलपछि देखाइएको राजनीतिक सन्देशलाई समेत गम्भीर रूपमा लिएको देखाएको छ। विश्वकप फाइनल विश्वभर करिब १ अर्ब ५० करोड दर्शकले हेरेको अनुमान गरिएका बेला यस्ता घटनाले प्रतियोगिताको प्रतिष्ठामा असर पार्न सक्ने भन्दै फिफाले कडा कदम चालेको हो।
फिफाले लगाएको खेल प्रतिबन्ध अन्तर्राष्ट्रिय खेलमा मात्र लागू हुनेछ।
एएफएले भने फिफाको निर्णयविरुद्ध अपिल गर्ने जनाएको छ। अपिलबाट पनि निर्णय परिवर्तन नभए खेलसम्बन्धी विवाद समाधान गर्ने अन्तर्राष्ट्रिय अदालत (सीएएस) मा जाने तयारी रहेको एएफएले जनाएको छ।
You must be logged in to post a comment.