काठमाडौं। बंगलादेशमा बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। बंगलादेशबाट प्रकाशित हुने द डेली स्टार का अनुसार अब तीन निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी छ।


हालसम्म सार्वजनिक परिणामअनुसार बिएनपीले दुई तिहाइ बहुमत सुरक्षित गरेको छ। बिएनपीले ३०० सदस्यीय प्रतिनिधि सभामध्ये निर्वाचन भएका २९९ सिटमध्ये २१३ सिट जितेको बताइएको छ। दुई तिहाइका लागि आवश्यक न्यूनतम २०० सिटभन्दा धेरै सिट ल्याउँदै बिएनपीले स्पष्ट बहुमत सुनिश्चित गरेको हो।


एक उम्मेदवारको निधनपछि शेर्पुर ३ मा मतदान स्थगित भएकाले त्यहाँ चुनाव हुन बाँकी छ। तारिक रहमान प्रधानमन्त्री बन्ने बाटो खुल्यो पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा टारिक रहमान नेतृत्वको बिएनपीलाई जनताले बलियो समर्थन दिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। निर्वाचन आयोगले शुक्रबार साँझसम्म औपचारिक नतिजा घोषणा गर्ने तयारी गरेको छ। औपचारिक घोषणा पश्चात् बिएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री चयन हुने अपेक्षा गरिएको छ।

अवामी लिग अनुपस्थित, विपक्षी गठबन्धन कमजोर

यसपटक पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिग चुनावमा सहभागी थिएन। विद्यार्थी आन्दोलन चर्किएपछि सन् २०२४ जुलाईमा हसिनाले राजीनामा दिएर भारतमा निर्वासन गएकी थिइन्। अवामी लिगलाई चुनावमा प्रतिबन्ध लगाइएपछि राजनीतिक प्रतिस्पर्धा एकपक्षीय बनेको विश्लेषण गरिएको छ।

जमात ए स्लाम ,एनसिपी सहित ११ दलसँग गठबन्धन गरी चुनाव लडेको थियो। तर उक्त गठबन्धनले जम्मा ७६ सिट मात्रै जितेको प्रारम्भिक विवरण छ। तीमध्ये एनसिपीका ६ उम्मेदवार विजयी भएको जनाइएको छ। मतगणनामा गडबडीको आरोप गठबन्धनमा आबद्ध दलहरूले मतगणनाको पारदर्शितामाथि प्रश्न उठाएका छन्। एनसिपीका प्रवक्ता आशिफ महमुदले पत्रकार सम्मेलन गर्दै मतगणनामा गडबडी भएको दाबी गरेका छन्। उनले विवादित सिटहरूको पुनःसमीक्षा नगरी अन्तिम नतिजा सार्वजनिक नगर्न निर्वाचन आयोगसँग आग्रह गरेका छन्।

उनका अनुसार ढाका ११, १३, १५, १७ र १९ लगायत क्षेत्रमा सञ्चारमाध्यमले सार्वजनिक गरेका तथ्यांक, मतदान केन्द्रको विवरण र निर्वाचन अधिकृतले घोषणा गरेको परिणामबीच फरक देखिएको छ। कतिपय स्थानमा पूर्ण मतगणना नहुँदै विजेता घोषणा गरिएको र केही केन्द्रको नतिजा पछि परिवर्तन गरिएको आरोप पनि उनले लगाए।


कुरीग्राम १ र २ मा अनौपचारिक विजय घोषणा भएपछि दबाब सिर्जना गरिएको तथा ढाका ८ मा तोकिएको चिन्हभन्दा बाहिर छाप लगाइएका मतपत्रसमेत गणनामा समावेश गरिएको दाबी गरिएको छ। यद्यपि जमात ए इस्लामले आफ्ना समर्थकलाई धैर्य अपनाउन आग्रह गर्दै निर्वाचन आयोगसँग पारदर्शिता सुनिश्चित गर्न माग गरेको छ। निर्वाचन आयोगले भने सबै उजुरीको अध्ययन गरी औपचारिक नतिजा सार्वजनिक गर्ने जनाएको छ।