भक्तपुर। प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड ले आज दिनभरमा बाँकी काम सकिने जनाएको छ।

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार अब पाँच लाख मतपत्र मात्र छाप्न बाँकी रहेको छ, जुन बागमती प्रदेश का लागि हो। ती सबै मतपत्र आजै छपाइ सम्पन्न गरिने उनले बताए।

उनले प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्ने लक्ष्य रहेकामा ४२ दिनको कार्यतालिका बनाएर काम सुरु गरिएको र ४० दिनमै काम सकिने अवस्थामा पुगेको जानकारी दिए। “दैनिक १३ देखि १५ लाख मतपत्र छाप्दै आएका छौं, लक्ष्यभन्दा अगाडि नै काम भइरहेको छ,” पौडेलले भने।

आज छपाइ सकिएपछि प्याकिङ कार्य पूरा गरी बाँकी जिल्लामा ढुवानी गरिनेछ। केन्द्रले छपाइ सम्पन्न गरेका १० लाख नमूना मतपत्र भने यसअघि नै निर्वाचन आयोग मार्फत विभिन्न स्थानमा पठाइसकेको छ।

समानुपातिकतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्र पनि छपाइ र प्याकिङ भइसकेको र जिल्लामा पठाउने कार्य जारी रहेको केन्द्रले जनाएको छ। कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको तथा अन्य क्षेत्रमा पनि १२ गतेसम्म पुर्‍याउने लक्ष्य राखिएको छ।