काठमाडौं। ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६ सिजन ८ मा प्रतियोगी नम्बर ८ का रूपमा सहभागी सफल महिला उद्यमी तथा अनुभवी ब्युटिसियन चाँदनी श्रेष्ठ विजयी भएकी छन्।

अखिल नेपाल ब्युटिसियन श्रमिक संघकी केन्द्रीय सदस्य तथा धादिङ जिल्ला उपाध्यक्षसमेत रहेकी श्रेष्ठले प्रारम्भिक चरणदेखि नै आफ्नो प्रतिभा, सिर्जनशीलता र व्यावसायिक दक्षताका कारण निर्णायक तथा दर्शकको मन जित्दै फाइनल राउन्डसम्म पुग्न सफल भएकी थिइन्।

लामो समयदेखि ब्युटिसियन क्षेत्रमा सक्रिय श्रेष्ठलाई सफल महिला उद्यमीका रूपमा समेत चिनिन्छ। सौन्दर्य सेवामा उनको अनुभव, नवीन शैली र सेवाप्रतिको समर्पणले उनलाई प्रतिस्पर्धामा अग्रस्थानमा पुर्‍याएको आयोजकले जनाएको छ।

उनको विजयी उपलब्धिको अवसरमा अखिल नेपाल ब्युटिसियन श्रमिक संघको आयोजनामा पेरिसडाँडामा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा नेता देव गुरुङ, रामदिप आचार्य तथा वरिष्ठ ब्युटिसियन गंगा नकर्मी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले श्रेष्ठको सफलतालाई नेपाली ब्युटिसियन क्षेत्रमा प्रेरणादायी उपलब्धिका रूपमा व्याख्या गर्दै आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका थिए।

श्रेष्ठको सफलताले महिला उद्यमशीलता तथा सीपमूलक पेशामा थप ऊर्जा र प्रेरणा मिल्ने सहभागीहरूले विश्वास व्यक्त गरेका छन्।