काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शनाले सुकुम्बासी व्यवस्थापनसँग सम्बन्धित विषयमा आफ्नै पार्टी नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।

शुक्रबार फेसबुकमार्फत राखेको विचारमा उनले सुत्केरी महिला, दूध चुसाउने आमा र वृद्धवृद्धाहरूसँग व्यवस्थापनका क्रममा उचित संवेदनशीलता नअपनाइएको गुनासो गरेकी छन्।

उनका अनुसार सरकारको “१०० दिने कार्ययोजना”मा सुकुम्बासी व्यवस्थापनसम्बन्धी बुँदा ९२ बाट ९१ मा सार्ने काम भएको थियो। यस विषयमा उनले संसदमा पटकपटक आवाज उठाएको र सम्बन्धित निकायसमक्ष लिखित निवेदन पनि दिएको उल्लेख गर्दै यसबाट सुत्केरी र वृद्धहरूलाई पनि अरूसरह नै व्यवहार गरिएकोमा दुःख व्यक्त गरेकी छन्। उनको भनाइमा सरकारले यस विषयलाई सही तरिकाले सम्बोधन गर्न सकेन।

सांसद दर्शनाले गणेश नेपाली नामका युवाले जीविकोपार्जनका क्रममा आत्मदाह गरेको प्रसंग पनि उठाएकी छन्। उनको भनाइमा राज्यको जिम्मेवारी केवल घाइतेको उपचार खर्च बेहोर्नेमा मात्र सीमित हुनु हुँदैन, बरु एक युवा आत्मदाहसम्मको अवस्थामा किन पुग्यो भन्ने खोजी गरी त्यसबाट नीति निर्माणमा पाठ सिक्नुपर्ने उनले बताएकी छन्।

उनका शब्दमा, गणेशले भौतिक रूपमा आफूलाई जलाए पनि दैनिक निराशाको भारले थिचिएका लाखौं युवाका लागि जीवनलाई सहज बनाउने नीति नै वास्तविक आवश्यकता हो।

मनोपरामर्शलाई मात्र समस्याको समाधान नमान्दै उनले श्रमिक वर्गको पीडा राज्यले गम्भीरतापूर्वक सुन्नुपर्ने धारणा राखेकी छन्। उनका अनुसार, “मैले सकिनँ” भन्ने भावना केवल मानसिक कमजोरी नभई सामाजिक तथा आर्थिक विषमताको दबाबबाट उत्पन्न यथार्थ हो र यसको समाधान मनोपरामर्शमा मात्र सीमित हुन सक्दैन, बरु आधारभूत आवश्यकता पूरा हुनु नै मानसिक सुरक्षाको जग हो।

अन्त्यमा उनले सय दिनभित्रै सम्पूर्ण परिवर्तन वा ठूलो संख्यामा रोजगारी सिर्जना सम्भव नभए पनि त्यसको जग तयार पार्ने काम अघि बढिरहेको बताउँदै सबैलाई एकैचोटि सन्तुष्ट पार्न नसकिए पनि पीँधमा रहेका गरिब र श्रमजीवी वर्गको पीडा कम गर्न सकिने र सरकारले यसतर्फ ध्यान दिनुपर्ने आग्रह गरेकी छन्। आफ्नो यो धारणा सार्वजनिक रेकर्डमा रहोस् भन्ने चाहना पनि उनले व्यक्त गरेकी छन्।