
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक शुक्रबार ७९.७४ अंक (३.०६ प्रतिशत) ले बढेर २,६७७.०५ विन्दुमा पुगेको छ। कारोबार सुरु भएदेखि नै उकालो लागेको बजार दिनभर हरियो रहँदा यो चैत २३ यताकै सबैभन्दा ठूलो एकदिने वृद्धि हो। नेप्से लगातार चौथो दिन बढेको हो।
शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन ४ अर्ब ५६ करोड रुपैयाँको कारोबार भए पनि त्यसमा ठूलो परिमाणमा ऋणपत्र कारोबार समावेश भएकाले वास्तविक सेयर कारोबारको तुलनामा शुक्रबारको कारोबार सक्रिय देखिएको हो।
आज २५७ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको घट्यो भने ३ कम्पनीको मूल्य स्थिर रह्यो। सबै समूहगत सूचक हरियो रहे। जलविद्युत्, उत्पादन तथा प्रशोधन र लगानी समूहमा ४ प्रतिशतभन्दा बढी वृद्धि भएको छ।
श्रीनगर एग्रिटेक र सूर्यकुण्ड हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढ्यो। शिखर पावर, रिजलाइन इनर्जी, मिडसोलु हाइड्रोपावर, सिटी होटल, थ्रीस्टार हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र नेसनल हाइड्रोपावरले पनि दोहोरो अंकको वृद्धि दर्ज गरे। विपरीत रूपमा आत्मनिर्भर लघुवित्तको मूल्य १५ प्रतिशतले घट्यो।
किन बढ्यो बजार?
विश्लेषकहरूका अनुसार राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीति कार्यान्वयन निर्देशनले बजारमा सकारात्मक मनोविज्ञान सिर्जना गरेको छ। सबल वित्तीय अवस्था भएका कम्पनीका सेयर धितोमा कर्जा सीमा ७० प्रतिशतबाट बढाएर अधिकतम ८० प्रतिशतसम्म दिन सकिने व्यवस्थाले लगानीकर्ताको विश्वास बढाएको छ।
यससँगै बैंकिङ प्रणालीमा रहेको अधिक तरलता, न्यून ब्याजदर, धितोपत्र बोर्डले ल्याएको नयाँ नीति तथा कार्यक्रम तथा बोर्ड नेतृत्वबाट लगानीकर्तालाई दिइएको सकारात्मक सन्देशले पनि बजारमा उत्साह थपेको विश्लेषण गरिएको छ।
शुक्रबार सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा आँखुखोला जलविद्युत्, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर र ङादी ग्रुप रहेका छन्।
You must be logged in to post a comment.