
काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनले उठाउँदै आएको समावेशिता, समानुपातिक प्रतिनिधित्व र जातीय मुक्तिको नारा व्यवहारमा कमजोर बन्दै गएको प्रश्न उठ्न थालेकाेछ।नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश श्रेष्ठले सार्वजनिक गरेको एक टिप्पणीमार्फत वर्तमान कम्युनिष्ट नेतृत्वले उत्पीडित समुदायप्रति न्याय गर्न नसकेको दाबी गरेका छन्।
श्रेष्ठका अनुसार तामाङ, नेवारलगायत उत्पीडित जनजातिहरूको निर्णायक तहमा प्रतिनिधित्व अत्यन्त न्यून रहेको छ। “नारामा सबै समुदायको सहभागिता भनिए पनि व्यवहारमा बालुवाटार र खुमलटारसम्म पुग्दा ती प्रतिबद्धता हराएका छन्,” उनले उल्लेख गरेका छन्।
उनले समावेशिताको नाममा सीमित व्यक्तिलाई मात्र पदमा राखेर वास्तविक प्रतिनिधित्व भएको दाबी गर्नु भ्रम मात्र भएको टिप्पणी गरेका छन्। इमानदार र लामो समयदेखि पार्टीका लागि योगदान दिएका कार्यकर्ताहरू नेतृत्वबाट पाखा लगाइएको आरोप पनि उनको छ।
श्रेष्ठले वर्तमान सत्ताभित्र चाकरी, दलाली, भ्रष्टाचार र कमिसनमुखी प्रवृत्ति हाबी भएको दाबी गर्दै यस्तो संस्कारले पार्टी र आन्दोलन दुवै कमजोर बनाएको बताएका छन्। “योग्यताको सट्टा चाकरी र आर्थिक चलखेलले पद पाउने अवस्था बनेको छ,” लेखमा उल्लेख छ।
उनका अनुसार वर्ग संघर्षको नारामा स्थापित दलहरू आज ‘कुर्सी संघर्ष’ मा सीमित भएका छन्। उत्पीडित समुदायबाट आएका इमानदार नेताहरू किन नेतृत्व तहमा पुग्न सकेनन् भन्ने प्रश्न उठाउँदै उनले यसलाई नियोजित बहिष्करणको संज्ञा दिएका छन्।
श्रेष्ठले अन्त्यमा नेतृत्वलाई सचेत गराउँदै समावेशिताको नाममा भइरहेका अभ्यास नसुध्रिए राजनीतिक रूपमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। “जनताको धैर्य सकिँदै गएको छ, अब इतिहासले सबै कुरा मूल्यांकन गर्नेछ,” उनको भनाइ छ।
You must be logged in to post a comment.