महेन्द्रनगर (धनुषा), १६ पुस — मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा गठित नयाँ प्रदेश सरकारले करिब एक महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएको छ। मुख्यमन्त्री यादवको नेतृत्वमा रहेको सरकारले आज छ जना मन्त्री थपेसँगै प्रदेश सरकारको मन्त्रिपरिषद् पूर्ण बनेको हो।

आज जनकपुरधामस्थित मधेस भवनमा आयोजित विशेष समारोहमा नवनियुक्त छ जना मन्त्रीहरूले प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।

नवनियुक्त मन्त्रीहरूमध्ये मनिषकुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालय, राजकुमार गुप्तालाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसैगरी शङ्करप्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालय, श्यामप्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वसन्तकुमार कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय, तथा फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।

नयाँ मन्त्रीहरूको नियुक्तिसँगै प्रदेश सरकारको प्रशासनिक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ। साथै प्रदेशस्तरीय विकास योजना, सेवा प्रवाह र नीति कार्यान्वयनमा तीव्रता आउने सरकार पक्षको भनाइ छ।