
मुलुक अहिले फेरि एकपटक राजनीतिक रूपान्तरणको महत्वपूर्ण मोडमा उभिएको छ। पछिल्ला केही सातादेखि देशभर आयोजित नेपाली कम्युनिस्ट पार्टीका जनसभा, खबरदारी सभा, कार्यकर्ता भेटघाट र एकता घोषणाहरूमा देखिएको जनसहभागिताको असाधारण भीडले धेरैलाई चकित तुल्याएको छ। भीड देखिनेबित्तिकै कतिपयले यसलाई ‘प्रचण्डको व्यक्तिगत क्रेज’ भनेर व्याख्या गर्ने प्रयास गरे पनि, वास्तविकता यसभन्दा निकै गहिरो र व्यापक छ। यो जनसागर कुनै एक नेताप्रति मात्रको मोह होइन, बरु कम्युनिस्ट एकताको नयाँ आकांक्षा, कुशासन प्रति आक्रोश, केही आशा र राजनीतिक दिशाको खोजी हो। जुनसुकै पार्टीमा पनि नेतृत्वको वरिपरि घुम्ने दास मानसिकताका मानिस हुन्छन। दासहरुले जहिल्यै पनि आफ्नो मालिक मात्रै ठुलो हाे र जे राम्रो भएको छ त्यो आफ्नो मालिकका कारणबाट मात्रै भएको हाे भनेर नेतृत्वको चाकरी गर्छ। दासहरुले दासत्व स्विकार्दै नेतृत्वकाे देवत्वकरण गर्छन र नेतृत्वबाट फाइदा लिन खाेज्छन र लिन्छन। असली कार्यकर्ता त्यो हाे जस्ले यथार्थ कुरा नेतृत्वसम्म पुर्याउन खाेज्छन तर दासहरुलाई त्यो कुरा स्विकार्य हुदैन । दासहरु असलीकुरा बिचमै राेक्छन र नेतृत्वलाई गुमराहमा राख्छन् ।प्रचण्ड नेपाली कम्युनिस्ट पार्टीमा सर्व स्विकार्य नेता हुन। उनकै पहलमा विभिन्न वाम घटक बिच एकता भएको सत्य हाे।उनी तेस्रोपटक प्रधानमन्त्री भएका बखत थालिएका सुशासनका कामले पक्कै पनि नागरिकमा आशा जगाएकाे थियो। त्यो आशा अहिलेसम्म यथावत छ तर याे भन्दैमा अहिलेका सबै उत्साहकाे कारण प्रचण्ड मात्रै हुन भनियो भने नयाँ सिराबाट उठ्न थालेको कम्युनिस्ट आन्दोलन माथि अन्याय हुनेछ भने स्वयं प्रचण्डको अभियान माथि पनि अन्न्याय हुनेछ। अहिले देखिएका जनसहभागितालाई विभिन्न काेणबाट हेर्न जरुरी छ।
१. राजनीतिक रिक्तता
२०४६ सालमा मुलुकमा प्रजातान्त्र स्थापना भए पश्चात् भएको निर्वाचन र आएको परिणामले देशमा स्थिरता ल्याउने अनुमान फेल खाएपछि मुलुकले अनगिन्ती घुम्ती पार गर्दै गणतन्त्र र मुलकानुन बन्दा सम्म आउदा नेपाली राजनीति निरन्तर अस्थिरतामा डुब्दै आइरहेको छ। दलहरूको वैचारिक प्रतिबद्धता कमजोर हुँदै गयो, सत्तासमीकरण र व्यक्तिपरक स्वार्थले राजनीति चलाइने अवस्था देखियो। जनताका प्राथमिक मुद्दा रोजगारी, शिक्षा, स्वास्थ्य, भ्रष्टाचार नियन्त्रण, सुशासन जस्ता विषय एका देशका कथा भए। यही निराशा, आक्रोश र राजनीतिक विकल्पको खोजीले जनतालाई पुनः संगठित विचारधारात्मक शक्तितर्फ आकर्षित गरिरहेको छ। यसर्थ,नेपाली कम्युनिस्ट पार्टीको सभामा देखिएको भीड राजनीतिक बैचारिक खाली पनाकाे भराइ हो।
२. प्रचण्ड क्रेज कि एकता क्रेज?
प्रचण्ड नेपालको राजनीतिमा इतिहास र उपलब्धि र सम्भावना बोकेको नाम हो। उनलाई समर्थक र आलोचक दुवैले उत्तिकै शक्ति र प्रभावका दृष्टिले हेर्छन। तर हालका सभाहरूमा सहभागी जनसमूहलाई नजिकबाट हेर्ने हो भने भिन्नभिन्न महत्वपूर्ण तथ्यबाट मुल्यांकन गर्न सकिन्छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड कम्युनिस्ट एकताका प्रतिक भएको कुरा सत्य हाे तर विभिन्न सभामा आउने धेरै युवाहरू प्रचण्डका कट्टर समर्थक भन्दा पनि नेपालका सबै कम्युनिस्ट एकीकृत भएर ठुलो कम्युनिस्ट पार्टी बनाेस र बैचारिक कम्युनिस्ट पार्टी बनाेस भनेर विकल्प खोज्ने युवा हुन्। उपस्थित युवा तथा नागरिकको भीडले राजनीति ‘नेतामुखी भन्दा ‘वैकल्पिक संरचना मुखी भए मुलुकमा सुव्यवस्था आउला भनेर एक्यवद्धता जनाउन र खबरदारी गर्न आएको संकेतका हिसाबले बुझ्नु जरुरी हुन्छ। त्यसैले, केही हदसम्म सत्य भए पनि यसलाई ‘प्रचण्ड क्रेज’ भनेर सीमित गर्नु गलत मूल्यांकन हुन जान्छ। मुलत याे सुव्यवस्थित र बैचारिक कम्युनिस्ट पुनर्संरचना प्रतिको आकर्षण हो।

३. सबै कम्युनिस्ट एकै ठाउँ भन्ने मनोवैज्ञानिक अपेक्षा:
नेपालमा कम्युनिस्ट आन्दोलनलाई विगत चार दशकमा टुटफुट र विभाजनले कमजोर बनाएको छ।कतिपय फुट विचारका नाममा भएकतिपय नेतृत्वका गुटका कारण भए भने कतिपय व्यक्तिगत आकांक्षाले भए। तर आधारभूत कम्युनिस्ट समर्थककाे आधार ग्रामीण गरीब, मजदुर ,किसान, निम्नमध्यम वर्ग आज पनि ठूलो संख्यामा यथावत छ। यी जनसमुदायलाई मुख्यतः तीन कुरा चाहिएको छ।उक्त समुदायलाई एकीकृत नेतृत्व,स्पष्ट वैचारिक मार्ग र स्थायी राजनीतिका साथै स्थिरता। जब प्रचण्ड, नेपाल , रावल, राजेन्द्र , महेन्द्र सबै धारका नेताहरू फेरि ‘कम्युनिस्ट पुनर्गठन’ को संकेत दिन थाले, स्वतः जनता फेरि एकताको सम्भावनातर्फ आकर्षित भए। जनसभामा जनसहभागिता त्यसको नै प्रत्यक्ष प्रभाव बन्यो ।
४. युवापुस्ताकाे आकर्षण:
उपत्यका बाहिरी भएका हालका सभाहरूमा युवाको सहभागिता विशेष रोचक र महत्वपूर्ण देखिन्छ। पुराना दलप्रति निराशा युवाले दलहरूको भ्रष्टाचार, सत्ताकाे खेती र अवसरवादलाई खुला रूपमा अस्वीकार गर्न थालेका छन्। युवाहरूको नयाँ राजनीतिक विकल्प खोज्ने चाहनाले उनीहरू व्यवहारिक र तिब्र गतिमा काम गर्ने वैकल्पिक संरचना चाहन्छन जुन जेनजी आन्दोलन, भाद्र २३–२४ जस्ता घटनाहरूको प्रभाव जस्ता विषयले युवाहरूले फेरि आफ्नो आवाज र प्रतिरोधको शक्ति महसुस गरेका छन्। यसर्थ, प्रचण्ड मात्र होइन, आन्दोलन, प्रतिरोध र परिवर्तन को शब्दलेनै युवालाई व्यवस्थित र विचार सहितको कम्युनिस्ट पार्टीमा आकर्षित गरेकाे देखिन्छ।

५. ठूलो भीडले के संकेत गर्छ:
हालका जनसभाहरूले नेपाली राजनीति भित्र केही स्पष्ट संकेत दिएका छन्। कम्युनिस्ट एकताप्रति जनताको वास्तविक चाहना एकाध नेता होइन, पुरै विचारधारात्मक धार एक हुनुपर्छ भन्ने अपेक्षा बढ्दैछ र त्यसको आशा नेपाली कम्युनिस्ट पार्टीले दिएको छ। प्रगतिशील विकल्पप्रति बढ्दो आकर्षण जनता मुख्यधारका दुई दल काङ्ग्रेस र एमालेको नेतृत्वमा भविष्य देख्न छाडेका छन्। यदि एकताले ठोस र बृहत रूप लिन सक्यो भने, आगामी निर्वाचनमा ठूलो रूपान्तरण हुने सम्भावनाले पनि सभाहरु भरिएका छन्। भ्रष्टाचार, बेरोजगारी, विभाजनवाद, अस्थिरता जस्ता मुद्दाले जनता आक्रोशित छन्। कम्युनिस्ट एकताले यावत् कुरा हट्छन भन्ने नागरिकमा विश्वास बढेको छ। नेतृत्वप्रति विश्वास र नेताहरू बीचको संवाद, भेटघाट र सहकार्यले जनताको भित्री विश्वास जागाएकोले जनसहभागिता बढेको हाे ।विश्वास जागाएकोले जनसहभागिता बढेको हाे ।

६. प्रचण्ड प्रतीक, तर एकल केन्द्र होइन:
प्रचण्डले जनयुद्ध सञ्चालनदेखि शान्ति प्रक्रियासम्म देशमा ऐतिहासिक भूमिका खेलेका छन्। यसले उनलाई ‘संघर्ष र समाधान दुवैको प्रतीक’ बनाएको छ। तर हालको जनसभामा व्यापक जनसहभागिता भने उनको व्यक्तिगत कारण मात्रै होइन। बरु, उनी,नेपाल ,रावल,श्रेष्ठ र यादव जस्ता नेताहरू एउटै विमर्शको टेबलमा नजिकिँदै जानुलाई जनताले संगठित कम्युनिस्ट शक्ति देखेकाले सहभागीता व्यापक भएको हाे।
त्यसैले , प्रचण्ड यस प्रक्रियाको मुख्य अभिन्न पात्र भए पनि जनसागरको कारण उनी मात्रै होइनन्। प्रचण्डले कम्युनिस्ट एकता सम्भव छ भन्नेकुरा पुष्टि गरेका छन। कम्युनिस्ट आन्दोलन एक हुनसक्छ तर यसका केही ठूला चुनौती छन।वैचारिक मतभिन्नता ,नेतामुखी गुटबन्दी,अतीतका असहयोग र अविश्वास,सत्ता समीकरणप्रति दृष्टिकोण मुख्य चुनौती हुन।
तर, चुनौतीभन्दा ठूलो चाहना अहिले जनताको दबाब हो। जब जनता नै ‘एकता गर’ भन्ने दबाब दिन थाल्छन्, नेताहरू वैकल्पिक बाटो खोज्न बाध्य हुन्छन्। देशभरका सभाहरूमा देखिएको जनसहभागिताले एक गहिरो सन्देश दिन्छ। नेपालले फेरि परिवर्तनको अर्को चक्र प्रवेश गर्ने संकेत देखिएको छ।
राजनीतिक निराशाको लामो कालपछि जनता अब छुट्टै विकल्प खोज्दैछन्। कम्युनिस्ट एकता त्यसको एक प्रमुख सम्भावित विकल्प बनेको छ।

७. जेनजी विभाजन र आन्दोलनको अपहरण:
भाद्र २३ गतेकाे जेनजी आन्दोलन नेतृत्व बिहिन भएका कारण भाद्रद २४ काे घटना घट्न मुख्य सहयोग पुगेको हाे। युवाहरुकाे आन्दोलन भए पनि आन्दोलनको नेतृत्व र सुजबुझ नभएकोले जेनजी आन्दोलन अपहरणमा परेको सत्य हाे। अहिले जेनजी युवाहरू काे असली जेनजी भनेर पुष्टि गर्न लागेका छन। जाे युवा जेनजी राजनीतिमा छैनन् तर समुहमा छन उनिहरुकाे राेजाई भने प्रचण्ड हुन। प्रचण्डले आफुलाइ जति क्षति भए पनि नयाँ दल र युवाहरूलाई उत्तिकै महत्त्व दिदै र संरक्षण गर्दै आएका छन। यश कारण पनि नेपाली कम्युनिस्ट पार्टीका सभाहरु भरिभराउ भएका हुन्।
र अन्त्यमा,
देशभर देखिएको असाधारण भीडलाई ‘प्रचण्डको व्यक्तिगत क्रेज’ भनेर मात्रै बुझ्नु सतही विश्लेषण र बुझाई मात्र हो।यसरी बुझ्न थालियो भने स्वयं प्रचण्डको पनि ओझ घट्छ। वास्तविकता यसको भन्दा धेरै ठूलो, गहिरो र ऐतिहासिक छ। कम्युनिस्ट आन्दोलन पुनः एकताका दिशामा अघि बढ्न खोज्दैछ। जनता स्थायी, वैचारिक र सक्षम राजनीतिक विकल्प खोज्दैछन् । युवाले फेरि प्रतिरोध र परिवर्तनको बाटो रोज्न थालेका छन्।पुरानाे व्यवस्था र दलहरूको असक्षमता प्रति आक्रोश चरम सिमामा पुगेको छ।

त्यसैले, नेपाली कम्युनिस्ट पार्टीका जनसभामा देखिएको उपस्थिति कम्युनिस्ट एकता, राजनीतिक रूपान्तरण र नयाँ वैकल्पिक दिशाको खोजीमा उभिएको नेपाली समाजको समग्र भावनाको प्रतिविम्ब हो। यदि आगामी दिनहरूमा नेताहरूले यो जनचाहनालाई व्यवहारिक एकतामा परिणत गर्न सके, नेपालको राजनीति फेरि एक ऐतिहासिक मोडमा प्रवेश गर्नेछ।















Comments