
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट बढ्दो हिंसा रोक्न सबै पक्ष गम्भीरतापूर्वक जुट्नुपर्नेमा जोड दिनुभएको छ। सञ्चारिका समूह नेपालद्वारा काठमाडौँमा आयोजित ‘लैंगिक हिंसा र सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले महिला पत्रकारहरू डिजिटल जोखिमका दोहोरो दबाबमा पर्ने भएकाले उनीहरूको सुरक्षा र सचेतता विशेष महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
मन्त्री खरेलले डिजिटल हिंसा संवेदनशील र अदृश्य रूपमा बढ्दै गएको बताउँदै सुरक्षित कन्टेन्ट, जिम्मेवार रिपोर्टिङ र बलियो एडभोकेसीमार्फत यसलाई न्यून गर्ने प्रयास आवश्यक रहेको धारणा राख्नुभयो। “घरमा सुरक्षित महसुस गरे पनि मोबाइल र सामाजिक सञ्जालका सामग्रीले असुरक्षा सिर्जना गर्न सक्छन्,” उहाँले भन्नुभयो, “त्यसैले प्रविधिको सहि उपयोगबारे अब गम्भीर बहस आवश्यक छ।”
उहाँले समाज समानताको दिशामा अघि बढिरहेको उल्लेख गर्दै महिलाहरू राजनीतिक, प्रशासनिक र सञ्चार क्षेत्रको नेतृत्वमा आउनुले ठूलो सकारात्मक सन्देश दिएको बताउनुभयो। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको कुराकानी उल्लेख गर्दै मन्त्री खरेलले महिला नेतृत्वको यात्रामा रहेको संघर्षलाई नेपाली समाजको ठूलो योगदान भनेका छन्।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले सरकारले सुशासन, पारदर्शिता र भ्रष्ट्राचार नियन्त्रणका लागि २५ भन्दा बढी ठूला फाइल अघि बढाइसकेको जानकारी गराउँदै निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने तयारी तीव्र गतिमा भइरहेको बताउनुभयो।
सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल, सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थी, डब्लुडब्लुजे अध्यक्ष रामकला खड्का तथा प्रेस काउन्सिल सदस्य निमा काफ्लेलगायतले पनि डिजिटल तथा कार्यस्थलमा हुने हिंसा रोक्न समन्वित प्रयत्न आवश्यक रहेको उल्लेख गरे।















Comments