काठमाडौँ। निर्वाचन आयोग ले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको ठहर गर्दै अनलाइन सञ्चारमाध्यम सेतोपाटीविरुद्ध कारबाही गर्न प्रेस काउन्सिल नेपाल लाई पत्राचार गरेको छ।


आइतबार सेतोपाटीमा प्रकाशित ‘सेतोपाटी चुनाव विश्लेषण–१’ अन्तर्गतको ‘चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन, रेनु दाहाल दोस्रो’ शीर्षकको समाचार तथा सोमबार प्रकाशित ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ शीर्षकको अर्को सामग्रीप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।


आयोगका अनुसार यी समाचारहरू निर्वाचन आचारसंहिता, २०८२ विपरीत छन्। उम्मेदवारको मनोनयन दर्ता भएदेखि मतदान सम्पन्न नहुँदासम्म मत सर्वेक्षण गर्न, त्यसको परिणाम घोषणा वा प्रकाशन गर्न नपाइने तथा कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन गर्न नहुने स्पष्ट व्यवस्था आचारसंहितामा छ।


कानुन अधिकृत मोहन राज जोशीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएअनुसार, सोही आधारमा सेतोपाटीबाट प्रकाशित सामग्रीहरू आचारसंहिताको दफा ४ (त) र दफा २५ (१)(ख) को प्रतिकूल देखिएकाले आवश्यक कारबाहीका लागि काउन्सिलसँग अनुरोध गरिएको हो।

आम नागरिक तथा पत्रकारले अब प्रेस काउन्सिलकाे निर्णय क्षमता कस्तो हुनेछ भन्ने मुल्यांकन गर्ने समय कुरेर बसेकाे बताएका छन्।