काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको मूल चरित्रमा कुनै पनि प्रकारको हस्तक्षेप नगर्न सरकार र राजनीतिक दलहरूलाई सचेत गराएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष यादवले क्षणिक राजनीतिक स्वार्थका लागि संविधानका आधारभूत विशेषतामाथि प्रहार गर्न खोजिए मुलुक गम्भीर जातीय तथा क्षेत्रीय द्वन्द्व तथा अशान्तितर्फ धकेलिन सक्ने चेतावनी दिएका हुन्।

उनले संघीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिताजस्ता संविधानका आधारभूत प्रावधानलाई सामान्य राजनीतिक बहुमतका आधारमा परिवर्तन गर्न नहुने बताएका छन्। यस्ता विषयहरूलाई संविधानमा असंशोधनीय बनाइएको उल्लेख गर्दै उनले यसले राष्ट्रको दीर्घकालीन हितको संरक्षण गर्ने बताएका छन्।

यादवले संविधान संशोधनको आवश्यकता रहेको स्वीकार गर्दै त्यसको उद्देश्य संविधानको मूल चरित्रलाई कमजोर बनाउने नभई संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ संस्थागत र प्रभावकारी बनाउने हुनुपर्ने धारणा राखेका छन्।

उनले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि शासकीय स्वरूप र संघीय शासन प्रणालीको सिद्धान्तअनुसार आवश्यक सुधार गर्नुपर्ने, साथै समान जनसंख्याका आधारमा प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा प्रदेश सभामा न्यायोचित प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने सुझाव दिएका छन्।

अध्यक्ष यादवले संविधानका अग्रगामी उपलब्धिमाथि हस्तक्षेप गरिए परिवर्तनका पक्षधर शक्तिहरूबाट त्यसको सशक्त प्रतिरोध हुने चेतावनीसमेत दिएका छन्।