
काठमाडौं । बञ्चरेडाँडाका स्थानीयले काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएको गाडीलाई शनिबार बिहान एक घण्टा रोकेका छन्। फोहोर व्यवस्थापन वैज्ञानिक र व्यवस्थित ढंगले नभएको तथा त्यसबाट गाउँमा दुर्गन्ध फैलिएको भन्दै स्थानीयले विरोध जनाएका हुन्।
सिसडोल–बञ्चरेडाँडा फोहोर व्यवस्थापन सरोकार केन्द्रका अध्यक्ष निरञ्जन सन्जेलका अनुसार विगतमा भएका सहमति कार्यान्वयन नभएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन्। उनका अनुसार स्थानीयले १५ दिनभित्र आफ्ना माग सम्बोधन गर्न सरकारलाई समय दिएका छन्। माग पूरा नभए फोहोर विसर्जनमा पूर्ण रूपमा रोक लगाउने चेतावनी उनीहरूले दिएका छन्।
स्थानीयका अनुसार बञ्चरेडाँडामा फोहोरबाट निस्किएको लिच्चेड बगेर खोलामा मिसिने गरेको छ। कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन नगरिँदा ल्यान्डफिल साइटको लिच्चेड व्यवस्थापनमा समेत समस्या देखिएको उनीहरूको भनाइ छ।
स्थानीयले प्रभावित क्षेत्रको जग्गा अन्तर्राष्ट्रिय मापदण्डअनुसार अधिग्रहण गर्नुपर्ने, लिच्चेडको उचित व्यवस्थापन गर्नुपर्ने तथा स्थानीयको स्वास्थ्य र शिक्षाका लागि विशेष व्यवस्था गर्नुपर्ने माग राखेका छन्। साथै रोजगारीको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।
स्थानीयका अनुसार बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका कारण स्वास्थ्य, कृषि तथा पशुपालनमा समेत असर परेको छ। गाउँमा क्यान्सर, मुटु तथा मिर्गौलासम्बन्धी गम्भीर रोगका बिरामी बढेको तथा झाडापखाला, टाइफाइड, श्वासप्रश्वास र छालासम्बन्धी समस्या पनि देखिने गरेको उनीहरूको गुनासो छ। फोहोरका कारण अनाज उत्पादनमा कमी आएको र पशुपन्छी पालनमा समेत असर परेको स्थानीयको दाबी छ।
काठमाडौं उपत्यकासहित २१ वटा स्थानीय तहको फोहोर सिसडोल–बञ्चरेडाँडा क्षेत्रमा व्यवस्थापन हुँदै आएको छ। करिब २० वर्षका लागि निर्माण गरिएको बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अहिले फोहोरको ठूलो थुप्रो लागेको स्थानीयको भनाइ छ।
धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सीमामा रहेको बञ्चरेडाँडामा करिब चार वर्षदेखि फोहोर विसर्जन हुँदै आएको छ। त्यसअघि करिब १७ वर्षसम्म सिसडोलमा उपत्यकाको फोहोर विसर्जन गरिएको थियो।
स्थानीयले दीर्घकालीन र वैज्ञानिक फोहोर व्यवस्थापनको व्यवस्था नगरे आफूहरू फेरि आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
You must be logged in to post a comment.