काठमाडौँ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न मंगलबार वासिङ्टन पुग्ने भएका छन्।

अमेरिकी अनलाइन एक्सियसका अनुसार दुई नेताबीच ह्वाइट हाउसमा हुने भेटवार्तामा रूस–युक्रेन युद्ध, युक्रेनको सुरक्षा अवस्था तथा युद्ध अन्त्यका लागि कूटनीतिक पहल प्रमुख एजेन्डा रहनेछ।

रूसले पछिल्लो समय युक्रेनमाथिको आक्रमण तीव्र बनाइरहेका बेला हुन लागेको यो भेटलाई अन्तर्राष्ट्रिय रूपमा महत्त्वपूर्ण मानिएको छ। युक्रेनले पनि रुसभित्रका सैन्य लक्ष्यविरुद्ध लामो दूरीका ड्रोन आक्रमण बढाएको छ।

ट्रम्प र जेलेन्स्कीबीच यसअघि यही महिना टर्कीमा आयोजित नेटो शिखर सम्मेलनका क्रममा भेट भएको थियो। त्यसबेला उनीहरूले युक्रेनको हवाई प्रतिरक्षा क्षमता सुदृढ बनाउने र युद्ध अन्त्यका लागि कूटनीतिक प्रयासलाई अघि बढाउने विषयमा छलफल गरेका थिए।

पछिल्लो समय अमेरिका इरानसँगको द्वन्द्वमा केन्द्रित रहेकाले रूस–युक्रेन युद्ध अन्त्यका प्रयास केही ओझेलमा परेको विश्लेषण गरिएको छ। इरानसँगको तनाव बढ्नुअघि ट्रम्पले रूसी राष्ट्रपति र युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग लगातार संवाद गर्दै युद्ध अन्त्यका लागि पहल गरेका थिए। तर ती प्रयासले अहिलेसम्म ठोस परिणाम दिन सकेका छैनन्।

ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीको सम्बन्धको इतिहास भने सहज छैन। ट्रम्पको कार्यकालमा भएको उनीहरूको पहिलो भेटका क्रममा दुवै नेताबीच चर्काचर्की भएको थियो। त्यसपछिको यो भेटलाई द्विपक्षीय सम्बन्ध र युद्ध समाधानको प्रयासका दृष्टिले चासोका साथ हेरिएको छ।