काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रिय फुटबल टोलीका प्रतिभाशाली मिडफिल्डर जेडन एडम्सको २५ वर्षको उमेरमा निधन भएको छ। उनको निधनको कारण भने सार्वजनिक गरिएको छैन।


दक्षिण अफ्रिकी फुटबल खेलाडी संघ (एसएएफपियू)ले शनिबार विज्ञप्ति जारी गर्दै मामेलोडी सनडाउन्स तथा दक्षिण अफ्रिकी राष्ट्रिय टोली ‘बाफाना बाफाना’का मिडफिल्डर एडम्सको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो।


संघले जारी गरेको विज्ञप्तिमा एडम्सले हालै सम्पन्न फिफा विश्वकप २०२६ मा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्दै साहस, समर्पण र गौरवका साथ देशको आशा बोकेको उल्लेख गर्दै उनको निधन परिवार, टोलीका सहकर्मी, क्लब, सम्पूर्ण फुटबल समुदाय तथा राष्ट्रकै लागि अपूरणीय क्षति भएको जनाएको छ।

साथै, संघले एडम्सका परिवार, मामेलोडी सनडाउन्स, स्टेलेनबोस एफसी, बाफाना बाफाना तथा उनीसँग आबद्ध सबैप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।


विश्वकप २०२६ मा एडम्सले दक्षिण अफ्रिकाका लागि तीन खेल खेलेका थिए। तीमध्ये दुई खेलमा उनी सुरुआती रोजाइमा परेका थिए। चेक गणतन्त्रविरुद्धको १–१ को बराबरीअघि मात्र उनकी हजुरआमा मरियाना एडम्सको निधन भएको थियो।

गहिरो व्यक्तिगत शोकका बाबजुद पनि उनले उक्त खेल खेलेका थिए। त्यसपछि मेक्सिकोसँग २–० ले पराजित भएको खेलमा पनि उनी सुरुदेखि मैदानमा उत्रिएका थिए भने दक्षिण कोरियाविरुद्ध १–० को जितमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। जुन २८ मा क्यानडाविरुद्धको खेलमा दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिँदा भने उनी बेन्चमै सीमित रहेका थिए।


दक्षिण अफ्रिकाका खेलकुद, कला तथा संस्कृति मन्त्री गेटन म्याकेन्जीले एडम्सकी हजुरआमाको निधनपछि आफूले समवेदना व्यक्त गरेको स्मरण गर्दै कठिन परिस्थितिमा पनि राष्ट्रिय टोलीका लागि खेलेको उनको समर्पण असाधारण रहेको बताएका छन्।

उनले एडम्सको विनम्रता, व्यावसायिकता र देशप्रतिको समर्पण सधैं स्मरणीय रहने उल्लेख गर्दै दक्षिण अफ्रिकाले एक उत्कृष्ट युवा फुटबलर गुमाएको प्रतिक्रिया दिएका छन्।


विश्वकपअघि एडम्सले मामेलोडी सनडाउन्सलाई क्याफ च्याम्पियन्स लिगको उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिएका थिए। उनी स्टेलेनबोस एफसीबाट सनडाउन्समा आबद्ध भएका थिए। सनडाउन्सबाट लिग उपाधि जितेपछि उनले आफ्नो विजेता पदक सन् २०२३ मा छुरा प्रहारबाट ज्यान गुमाएका पूर्व सहकर्मी ओश्विन एन्ड्रिसको सम्झनामा समर्पण गरेका थिए। उनको निधनले दक्षिण अफ्रिकी फुटबल समुदाय शोकमा डुबेको छ।