काठमाडौं। नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय फिर्ता गर्न माग गर्दै आज काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।

जिल्ला अध्यक्ष शोभा अर्यालको नेतृत्वमा गएको टोलीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेलमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र पेश गरेको हो।

प्रधानमन्त्रीको सचिवालयमार्फत सरकारी कार्यालयहरूलाई निजी मिडियामा विज्ञापन नदिन निर्देशन जारी भएपछि पत्रकार महासंघले त्यसको विरोध गर्दै देशव्यापी आन्दोलन सुरु गरेको छ।

महासंघले उक्त निर्णय प्रेस स्वतन्त्रता, निष्पक्ष सूचना प्रवाह तथा खुला बजार प्रतिस्पर्धाविरुद्ध रहेको ठहर गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाएको हो।

सोही आन्दोलनको कार्यक्रमअनुसार आज देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत एकैसाथ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको महासंघले जनाएको छ। महासंघका अनुसार सरकारी विज्ञापनलाई सीमित माध्यममा केन्द्रित गर्ने प्रयासले निजी सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठाउने र लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने खतरा रहेको छ।


ज्ञापनपत्रमा सरकारी निकायले सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्नुपर्ने, विज्ञापन वितरणमा पारदर्शिता कायम गर्नुपर्ने तथा निजी मिडियालाई विभेद गर्ने निर्णय तुरुन्त फिर्ता लिनुपर्ने माग गरिएको छ।

महासंघले माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएको छ। पत्रकार महासंघ काठमाडौं शाखाले सञ्चार क्षेत्रको स्वतन्त्रता र व्यावसायिक हितको संरक्षणका लागि आवश्यक परे थप दबाबमूलक कार्यक्रम सञ्चालन गरिने स्पष्ट पारेको छ।